गृहपृष्ठ घरबेटी बा, म र हाम्रो ‘ढुङ्गे महाभारत’
घरबेटी बा, म र हाम्रो ‘ढुङ्गे महाभारत’
तपाईंले मान्छेका कोठामा पुस्तकका चाङ देख्नुभएको होला, महँगा कपडा वा संगीतका साधन देख्नुभएको होला । तर, काठमाडौँको एउटा साँघुरो डेराभित्र सिङ्गो हिमालका अस्थिरपञ्जरहरू, करोडौँ वर्ष पुराना पहाडका अवशेषहरू र नदीका प्राचीन इतिहासहरू कङ्क्रिटको भित्तासँगै सुतिरहेका छन् भन्दा सायद धेरैलाई पत्यार नलाग्न सक्छ ।
म मान्छे भूगर्भशास्त्रको, त्यसैले मेरो कोठा कुनै आलिसान बेडरुम थिएन । एउटा जीवन्त ‘जियोलोजिकल म्यूजियम’ थियो । तर, यो म्यूजियम मेरो घरबेटी बाका लागि भने एउटा कसिङ्गरको थुप्रो र टाउको दुखाइको विषय मात्र थियो।
जुन दिनदेखि मैंले त्रि–चन्द्र कलेजमा ब्याचलर्सको पढाइ सुरु गरेँ, त्यही दिनदेखि मेरो कोठाभित्र भूगोल र पुस्ताको एउटा रोचक ‘ठुस्काठुस्की’ पनि सुरु भएको थियो ।
मेरो ढुङ्गाप्रतिको यो लगाव आजको होइन । स्मृतिहरू केलाउँदा म जहिले पनि माटोकै वरिपरि हिलो लतपतिएको अवस्थामा भेटिन्छु । सानैदेखि मलाई बालुवा र माटो असाध्यै मनपर्ने । माटोकै आगो नबल्ने चुल्हो, माटोकै थाल–चम्चा, र माटोकै अमूल्य रत्नहरु । हाम्रो त्यो बालसंसारमा हामी दुई जना भएपछि संसारका अरू कुनै वैभव चाहिँदैनथ्यो । नाताले उनी मेरी फुपू पर्ने, तर म सधैं बहिनी भन्थेँ । मेरी प्रिय बहिनी –सुस्मिता आचार्य । वडहरेको डाँडाकाँडामा त्यही बहिनीसँग धूलोमाटो खेल्दै, ‘सातढुङ्गे’ र ‘गम्फु’ का चाङहरू लगाउँदा लगाउँदै कतिबेला माटो र चट्टानप्रतिको आकर्षण मेरो नसा–नसामा भूगोल बनेर बग्न थाल्यो, आफैँले पत्तो पाइनँ। बाल्यकालको त्यही ‘सातढुङ्गे’ जगले मलाई कलेजको ‘जियोलोजी’सम्म डो-यायो ।
६० वर्ष नाघेका एकल वृद्ध घरबेटी बा, जो महिना दिन पुगेपछि कोठाको भाडा लिन ढोका ढकढक्याउन आउँथे । उनका लागि ती ढुङ्गाहरू मेरो ‘करियर’ नभएर शत्रु थिए । बा कोठाभित्र छिर्दा कहिले डोलोमाइटसँग ठोक्किएर खुट्टा खोच्याउँथे त कहिले स्यान्डस्टोनको धूलो सरेर उनको दौराको फेरो नै सेतो हुन्थ्यो। अरू बेला शान्त रहने बा कोठाको यो हालत देखेपछि रिसले आगो हुन्थे र मलाई -याख-याख्ती पार्थे।
एक दिन त पराकाष्ठा नै नाघ्यो । बा कोठामा छिर्दा अलिकति के भएको थियो, लुकाएर राखिएको कडा र तिखो क्वार्जाइटको कुनाले उनको गोडामा द-हो चोट लाग्यो । बुढेसकालको शरीर, गोडाबाट रगतको टाटा देखिन थालेपछि बाको पारो सातौँ आसमानमा पुग्यो । अनि सुरु भयो हाम्रो डेराभित्रको ‘महाभारत’ । ‘के खप्पर राखेको यो कोठाभरि ? मान्छे बस्ने ठाउँ हो कि ‘मसानघाट ?’ बाले आक्रोशको ज्वालामुखी विस्फोट गरे ।
म हडबडाउँदै उठेँ, तर आफ्नो विषयको बचाउ गर्दै बिस्तारै भनेँ, ‘खप्पर होइन बा, यो त क्वार्जाइट हो । यसको हार्डनेस अलि बढी हुन्छ के ! जुनसुकै टाइट होस ! यो के धुलैधुलै बनाएर राखेको कोठा ? फोहोरी ! बाले भुइँको धूलो देखाउँदै कड्किए।
मैंले मुस्कुराउँदै बाको आँखाको भ्रम चिर्न खोजेँ, ‘बा, तपाईंको आँखाले पनि धोका खायो । यो जाबो धूलो होइन, सुनजस्तै टल्किएको पाइराइट र मस्कोभाइटको चमक पो हो त !
बाको रिस झन् चुलियो, अझै बढी बोल्छस ? पढेको घमण्ड देखाउँछस ? अहिल्यै यो घर सफा गर ! मैंले भावुक हुँदै ढुङ्गाहरूलाई सुम्सुम्याएँ, बा, यिनीहरू मेरा ढुङ्गा मात्र होइनन्, मेरो जीवनका पाना हुन्, मेरो जीवनी हुन् । कसरी बढारेर फालौँ म मेरो जिन्दगीलाई ?
बाले कान थुन्दै भने, ‘मलाई तेरो गफ सुन्नु छैन । पानी लगाएर हुन्छ कि कुचो लगाएर हुन्छ, यो कोठा तत्काल सफा हुनुपर्छ, बस !
मैंले भूगर्भशास्त्रको ब्रह्माण्ड पल्टाउँदै अन्तिम अस्त्र फ्याकेँ, बा, मैंले यहाँ पानी लगाएर सफा गरे पनि यहाँ त ‘इरोजन्’ मात्र हुने हो, यसको ‘डिपोजिसन्’ त फेरि तपाईंको घरको पछाडिको आँगनमै गएर थुप्रिने त हो नि !
मेरो यो ‘जियोलोजिकल’ जवाफ सुनेर बा अक्नबक्क भए । गालाका चाउरीहरू अझ खुम्च्याउँदै रिस कै झोँकमा भने ‘यो गाईखाने अनौठो भाषा नबोल है मलाई ! घर सफा राख, नत्र सुख पाउने छैनस् । यति भन्दै बा कट्कटिँदै कोठाबाट बाहिरिए।
बा गइसकेपछि म खाटको कुनामा थुचुक बसेँ। बाको गोडाको घाउ र मेरो कोठाको वैभवलाई दाँज्न थालेँ। मनमनै सोचेँ, कास! यो सिवालिकदेखि ‘एसटीडीएस’सम्मका चट्टानहरूमा ढुङ्गाका ठाउँमा हीरा भइदेको भए, मेरो यो कोठा बालाई कति प्रिय लाग्थ्यो होला ! उनले कति जतनले सुम्सुम्याउँथे होलान् ती हीराका टुक्राहरूलाई । कास ! त्यो ‘एमबीटी’ को गहिराइमा मैले सङ्कलन गरेका ढुङ्गाहरूमा रुबी वा नीलम भइदेको भए, मेरो यो कोठा बाका लागि संसारकै स्वर्ग बन्थ्यो होला र उनी हरेक महिना भाडा माग्न होइन, मेरो कोठाको ढोका ढोग्न आउँथे होलान् ।
यहीँनिर म एउटा विरोधाभास सम्झिन्छु । जुन बा कोठामा क्वार्जाइट र डोलोमाइट देख्दा मलाई मसानघाटको संज्ञा दिन्थे । तिनै बाले एक दिन मेरो कोठाको कुनामा सजाइएकोकालीगण्डकीको ‘शालिग्राम’ मलाई नै नसोधी सुटुक्क आफ्नो पूजाकोठामा लिएर गएछन् । पछि मैंले थाहा पाएर सोध्दा उनले गर्विलो हुँदै भनेका थिए, ‘लौ, यो भगवान् जस्तो पवित्र चिज कोठाको कसिङ्गरमा राख्ने हो त ? मैले त राम्रो काम गरेँ नि !
म मनमनै हाँसेँ । बालाई ‘जियोलोजी’ को के अर्थ र महत्त्व बुझाउनु ! जसलाई वैज्ञानिक आँखाले नहेरी धर्मको चस्माले मात्र हेरिन्छ । यो विडम्बना केवल मेरा घरबेटी बा र मबीचको मात्र होइन, सिंगो नेपाली समाज र राज्यकै नियति हो । हाम्रो समाज र नीति निर्माताहरू पनि घरबेटी बा जस्तै छन्, । भुइँमा छरिएका रैथाने चट्टान र खनिजलाई ’कसिङ्गर’ देख्छन् । तर त्यही चिज विदेशीले प्याक गरेर पठाउँदा भगवान् वा अमूल्य रत्न मानेर ढोग्छन् ।
नेपालमा केवल शालिग्राम मात्र छैनन्। यहाँ मलेखुको चुनढुङ्गा छ । जसले देशलाई सिमेन्टमा आत्मनिर्भर बनाउन सक्छ; यहाँ यस्ता थुप्रै चट्टान, तामा, फलाम र खनिजका खानीहरू छन् । जसको सही उत्खनन् र पहिचान गर्ने हो भने यो देशको रङ्गरूप र मुहार नै फेरिन सक्छ । तर दुःखको कुरा, हामीले आफ्नो जगको ढुङ्गा चिन्न सकेका छैनौँ ।
घरबेटी बासँगको आजको त्यो सानातिनो ‘ढुङ्गे महाभारत’ त साम्य भयो होला, बा आफ्नो बाटो लागे होलान् । तर, यो देशसँग, देशको परम्परागत सोचसँग र खनिजलाई केवल कसिङ्गर देख्ने राज्यको दृष्टिसँग मेरो भूगर्भीय महाभारत अझै जारी छ । यो देशलाई जियोलोजी बुझाउनु छ । यसको अथाह आर्थिक महत्त्व बुझाउनु छ, र यही जगमा उभिएर समृद्ध देश निर्माणको यात्रामा अगाडि बढ्नु छ । चेत नभएकाहरूका लागि ढुङ्गा केवल ठक्कर खाने माध्यम होला, तर एउटा भू–गर्भशास्त्रीका लागि यो देश बनाउने बलियो इँट्टा हो । आफ्नो भूगोलको महत्त्व यो समाजलाई नबुझाएसम्म, देशसँगको यो वैचारिक महाभारतमा म लडिरहनेछु, अन्तिम दिनसम्म ।
प्रकाशित समय : १८:५३ बजे



















