global ime bank Long Banner Ad

गृहपृष्ठ पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछः उपराष्ट्रपति

पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछः उपराष्ट्रपति

पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछः उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गरेका छन् ।

इस्लाम धर्मावलम्बीहरूले मनाउने महान् पर्व ‘ईद–उल–अज्हा’ (बकर इद) अवसरमा शुभकामना व्यक्त गर्दै उनले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा एकापसमा मिलेर बस्न प्रेरित गर्ने बताएका छन् ।

उपराष्ट्रपति यादवले यस पर्वले विशेषतः विपन्न तथा सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई सुदृढ बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

‘धार्मिक महत्वसँगै सामाजिक र सांस्कृतिक दृष्टिले पनि यो पर्वले सामूहिकता, सहकार्य र मानवताको उच्च मूल्यलाई उजागर गर्दछ । यसले हामीलाई सुख–दुःख साझा गर्न, अभावमा रहेकाहरूसँग हातेमालो गर्न र समाजमा सहिष्णुता तथा सद्भावलाई बढावा दिन सिकाउँछ,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधतामा एकता हाम्रो मौलिक पहिचान हो । यहाँ मनाइने पर्वहरूले समुदायबीच आपसी समझदारी, अपनत्वभाव र एकताको संस्कारलाई बलियो बनाउँदै राष्ट्रिय अखण्डता र सांस्कृतिक ऐक्यबद्धताको संरक्षणमा योगदान पुर्याउँछन् भन्ने उनले विश्वास व्यक्त गरेका छन् ।

उपराष्ट्रपति यादवले ‘ईद–उल–अज्हा’ पर्वले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई अझ सबल बनाउँदै सभ्य, शान्त, समुन्नत र समृद्ध मुलुक तथा समाज निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित समय : ०७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु