global ime bank Long Banner Ad

गृहपृष्ठ ‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको भेट, के–के भयो कुराकानी ?

‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको भेट, के–के भयो कुराकानी ?

‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको भेट, के–के भयो कुराकानी ?

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)का उच्चस्तरिय टोलीसँग छलफल गरेकी छन् । स्विट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को ७९औँ विश्व स्वास्थ्य सभामा भाग लिने क्रममा गाभीका उच्चस्तरीय टोलीसँगको छलफलमा उनले संक्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभीसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताइन् ।

उनले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल गार्हस्थ्य उत्पादनको करिब पाँच प्रतिशतको हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाभीसँगको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको स्तरोन्नतिसँगै अन्तर्राष्ट्रिय अनुदानको ढाँचा परिवर्तन हुने र खोप खरिदमा नेपालले आफ्नै आन्तरिक लगानी क्रमशः बढाउँदै लगेर अन्ततः आफैँ सक्षम हुनुपर्ने अवस्था रहेको बताइन् ।

छलफलमा पारस्परिक सहकार्यलाई निरन्तरता दिने र संक्रमणकालीन वित्तीय व्यवस्थापनलाई अवरोध नहुने विषयमा सहमति भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।

बैठकले नेपालको राष्ट्रिय स्वास्थ्य प्रणालीलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री मेहताको भनाइ छ । आर्थिक स्तरोन्नतिको समयमा पनि जीवनरक्षक स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्न र दुई दशकभन्दा लामो नेपाल र गाभीबीचको साझेदारीलाई अझ विस्तार गर्न छलफलमा दुवै पक्ष प्रतिबद्ध देखिएको थियो ।

दुई पक्षको सहकार्यले समग्र नेपाली जनताको स्वास्थ्य र भलाइमा दीर्घकालीन योगदान पुर्‍याउने सुनिश्चित गरेको मन्त्री मेहताले उल्लेख गरिन् । गाभी सन् २००० यता नेपालको राष्ट्रिय खोप कार्यक्रमको एक प्रमुख साझेदार रहँदै आएको छ ।

प्रकाशित समय : १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु