गृहपृष्ठ नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेन–डी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेन–डी प्याकेज’
काठमाडौँ ।नेपालमा नसर्ने रोगहरू ९ उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली र श्वासप्रश्वाससम्बन्धी रोग समयअगावै हुने मृत्युका प्रमुख कारणका रूपमा देखापरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल मृत्युको करिब ७१ प्रतिशत हिस्सा नसर्ने रोगका कारण हुने गरेको छ । साथै, सन् २०३० सम्म यो दर ७९ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ । यस्ता रोगहरूले व्यक्ति, परिवार तथा समग्र स्वास्थ्य प्रणालीमा पर्ने भार निरन्तर बढाइरहेका छन् ।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयद्वारा कार्यान्वयनमा ल्याइएको ‘नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना ९२०७८–२०८२०’अनुसार करिब २२ प्रतिशत नेपाली जनता नसर्ने रोगका कारण ३० देखि ७० वर्षको उमेर बीचमै अकाल मृत्युको जोखिममा छन् ।
पछिल्लो समय अधिकांश घरपरिवारमा कुनै न कुनै प्रकारका नसर्ने रोगका बिरामी भेटिन थालेका छन् । यद्यपि, २०७८ माघ २४ गते मन्त्रिपरिषद्बाट स्वीकृत उक्त महत्वाकाङ्क्षी कार्ययोजनाले अपेक्षित रूपमा नसर्ने रोग न्यूनीकरणमा उल्लेखनीय सुधार ल्याउन सकेको छैन ।
नेपालमा व्यक्तिगत घटना दर्ता प्रणाली पूर्ण रूपमा प्रभावकारी नभएकाले नसर्ने रोगसम्बन्धी राष्ट्रिय मृत्यु–दरका तथ्याङ्क प्राप्त गर्न अझै चुनौती रहेको छ ।
हाल करिब ५० प्रतिशत मृत्यु मात्र दर्ता हुने अनुमान गरिएको छ । सरकारी अस्पतालहरूको अन्तरङ्ग तथा बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ठूलो हिस्सा नसर्ने रोगसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ ।
अर्कोतर्फ, भूकम्प, बाढी, पहिरो तथा जलवायुजन्य विपद्जस्ता जोखिमप्रति नेपालको उच्च संवेदनशीलताले कमजोर स्वास्थ्य सेवा प्रणालीलाई पटक–पटक प्रभावित बनाइरहेको छ । नसर्ने रोग भएका व्यक्तिहरूका लागि यस्ता अवरोधहरू झन् प्राणघातक बन्न सक्छन् । यसले नियमित उपचारमा अवरोध, औषधिको अभाव तथा गम्भीर स्वास्थ्य जटिलता निम्त्याउने गरेको छ ।
विपद्को समयमा नसर्ने रोग भएका व्यक्तिहरूको उपचार सेवालाई निरन्तरता दिन विपद्का समयमा नसर्ने रोगसम्बन्धी अत्यावश्यक हेरचाह ‘पेन–डी प्याकेज’ तयार गरिएको हो । यो ‘प्याकेज’ले विपद्का बेला नसर्ने रोगको उपचारमा देखिने महत्वपूर्ण कमी तथा अवरोधलाई सम्बोधन गर्ने उद्देश्य राख्दछ । नेपालले प्राथमिक स्वास्थ्य सेवामार्फत नसर्ने रोग व्यवस्थापनका लागि विश्व स्वास्थ्य सङ्गठनको ‘अत्यावश्यक नसर्ने रोग उपचार प्याकेज’ (डब्लुएचओ – पेन) अवलम्बन गरिसकेको भए पनि विपद्का समयमा त्यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अझै पर्याप्त तयारी र संरचना आवश्यक रहेको देखिएको छ ।
‘पेन–डी प्याकेज’ ले विद्यमान राष्ट्रिय स्वास्थ्य प्रणाली र ‘प्रोटोकल’लाई आधार मानेर आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै सेवाको दायरा विस्तार गर्न सहयोग गर्दछ । यसले नियमित स्वास्थ्य प्रणाली अवरुद्ध भए पनि अत्यावश्यक नसर्ने रोगसम्बन्धी सेवाहरू उपलब्ध, सञ्चालनयोग्य र प्रभावकारी रहने सुनिश्चित गर्दछ । नयाँ ‘क्लिनिकल’ मापदण्ड थप गर्नुको सट्टा यसले उपचार सेवाको निरन्तरतामा विशेष जोड दिन्छ ।
साथै, विपद्अघि, विपद्को समयमा र विपद्पश्चात् औषधि, निदान सेवा, दक्ष जनशक्ति तथा सेवा प्रवाह प्रणालीलाई सक्रिय र सुदृढ राख्न सहयोग पु¥याउँछ ।
‘पेन–डी प्याकेज’ मुख्य रूपमा एक व्यावहारिक तथा एकीकृत कार्यढाँचा हो, जसले नसर्ने रोगसम्बन्धी सेवाहरूलाई विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनाका गतिविधिसँग जोड्दछ । यसअन्तर्गत जोखिम नक्साङ्कन, उच्च जोखिममा रहेका बिरामीहरूको पहिचान, आवश्यक औषधि तथा परीक्षण सामग्रीको पूर्व भण्डारण, मोबाइल तथा विकेन्द्रीकृत स्वास्थ्य सेवा सञ्चालन, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि, र बिरामीहरूलाई स्व–हेरचाहसम्बन्धी मार्गदर्शन प्रदान गर्ने व्यवस्था समावेश गरिएको छ ।
यसले स्वास्थ्य तथा विपद् व्यवस्थापन प्रणाली बीचको समन्वयलाई प्राथमिकता दिँदै समुदायदेखि स्वास्थ्य संस्था र राष्ट्रिय स्तरसम्मको प्रतिकार्य संयन्त्रलाई जोड्दछ । यसरी ‘पेन–डी प्याकेज’ ले नसर्ने रोगसम्बन्धी सेवाहरूलाई समुदायस्तरीय स्वास्थ्य सेवासँग एकीकृत गरी विपद्को कठिन परिस्थितिमा पनि सेवा निरन्तरता कायम राख्न सक्षम प्रणाली निर्माणमा सहयोग पु¥याउँछ ।
विपद् व्यवस्थापन चक्रका सबै चरणमा ‘पेन–डी प्याकेज’ को भूमिका अत्यन्त महत्वपूर्ण छ । विपद्अघि यसले जोखिममा रहेका व्यक्तिको पहिचान, औषधि भण्डारण, स्वास्थ्यकर्मी तालिम तथा समुदाय सचेतनामार्फत तयारीलाई सुदृढ बनाउँछ । साथै, बिरामीलाई स्व–व्यवस्थापन र आपत्कालीन ‘किट’ मार्फत सशक्त बनाइन्छ भने स्वास्थ्य संस्थाहरूलाई आपूर्ति प्रणाली र समन्वय सुदृढ गर्न सहयोग गरिन्छ ।
त्यसैगरी, पूर्वानुमानमा आधारित पूर्वकार्यअन्तर्गत बाढी वा पहिरोजस्ता सम्भावित विपद्को पूर्वसूचना प्राप्त भएपछि दुई–चार हप्ताका लागि आवश्यक औषधिको पूर्ववितरण, घुम्ती स्वास्थ्य टोली परिचालन, सामुदायिक स्वास्थ्यकर्मी परिचालन तथा उच्च जोखिममा रहेका बिरामीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यहरू सञ्चालन गरिन्छ । सेवा प्रवाहका माध्यममा ‘पेन–डी प्याकेज’ किट, औषधि, नगद वा नगद–सहितको सहयोग, जनचेतना तथा क्षमता विकास कार्यक्रमहरू पनि समावेश गरिएका छन् ।
विपद्को समयमा नसर्ने रोगसम्बन्धी सेवा प्रभावकारी रूपमा निरन्तर सञ्चालन गर्न पूर्वसूचना तथा पूर्वकार्य प्रणालीलाई स्वास्थ्य सेवासँग एकीकृत गरिएको छ । बाढी तथा पहिरोजस्ता जोखिमसम्बन्धी पूर्वानुमानलाई पूर्वनिर्धारित ‘ट्रिगर’ सँग जोडेर आवश्यक तयारी तथा सेवा सञ्चालन प्रक्रिया सक्रिय गरिन्छ । यसले समयमै सूचना प्रवाह, औषधिको पूर्व भण्डारण तथा स्वास्थ्य टोली परिचालन सुनिश्चित गर्दछ ।
साथै, पूर्वसूचना प्रणालीमा उच्च जोखिममा रहेका बिरामीहरूको सूची, स्वास्थ्य संस्थाको तयारी अवस्था तथा आपूर्ति शृङ्खलासम्बन्धी सूचकहरू समावेश गरिएका छन् ।
विपद्को समयमा ‘मोबाइल क्लिनिक’, ‘टेलिमेडिसिन’, समुदायमा आधारित अनुगमन तथा पूर्व भण्डारित सामग्री वितरणमार्फत सेवा निरन्तरता सुनिश्चित गरिन्छ । अग्रपङ्क्तिका स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले आधारभूत परीक्षण, परामर्श तथा अनुगमन सेवा प्रदान गर्दछन् । मस्तिष्काघात (स्ट्रोक) वा मधुमेहजन्य जटिलताजस्ता आपत्कालीन अवस्थाका लागि आवश्यक ‘रेफरल’ प्रणालीसमेत सञ्चालनमा राखिन्छ । विपद्पश्चात् नियमित सेवा पुनःस्थापना, उपचार अवरोधका कारण उत्पन्न जटिलताको व्यवस्थापन तथा सिकाइलाई भावी योजनामा समावेश गरिन्छ ।
‘पेन–डी प्याकेज’ ले समावेशिता र समानतालाई पनि प्राथमिकता दिन्छ । विशेषगरी ज्येष्ठ नागरिक, फरक क्षमता ९अपाङ्गता० भएका व्यक्ति तथा सीमित गतिशीलता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर ‘कोही पनि पछाडि नछुटोस्’ भन्ने अवधारणालाई व्यवहारमा उतारिएको छ । समुदायको सहभागिता, कार्य विभाजन तथा विकेन्द्रीकृत सेवा प्रवाहमार्फत स्थानीय क्षमताको उपयोग गर्दै सामुदायिक उत्थानशीलता सुदृढ बनाइन्छ । मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, सुरक्षित आश्रयस्थल तथा बिरामी–केन्द्रित सेवा कार्यढाँचाले यसको प्रभावकारिता अझ बढाउँछ ।
राष्ट्रिय स्तरमा ‘पेन–डी प्याकेज’ को अवलम्बन नेपाल सरकारका लागि रणनीतिक आवश्यकता र अवसर दुवै हो । यसले परम्परागत रूपमा आकस्मिक रोगमा केन्द्रित विपद् व्यवस्थापन प्रणालीमा दीर्घकालीन नसर्ने रोगसम्बन्धी सेवाहरूलाई समेट्दै नीति तथा कार्यान्वयनका कमीहरू पूर्ति गर्दछ । साथै, विश्वव्यापी स्वास्थ्य सेवा पहुँच तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिबद्धतासँग पनि मेल खान्छ ।
देशव्यापी रूपमा ‘पेन–डी प्याकेज’ को विस्तारले सङ्घीयदेखि स्थानीय तहसम्म तथ्यमा आधारित तथा मापदण्डयुक्त कार्यान्वयन सुनिश्चित गर्नेछ । यसले स्वास्थ्य संस्था, आपत्कालीन प्रतिकार्य प्रणाली तथा सामुदायिक सञ्जाललाई विपद्को समयमा नसर्ने रोग भएका व्यक्तिहरूको सुरक्षा र उपचार निरन्तरताका लागि सक्षम बनाउनेछ ।
साथै, यसले दीर्घकालीन आर्थिक तथा सामाजिक भार घटाउँदै मृत्यु तथा जटिलता न्यूनीकरणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
‘पेन–डी प्याकेज’ नेपालमा स्वास्थ्य तथा विपद् प्रतिकार्य प्रणालीका लागि समयसापेक्ष तथा अत्यावश्यक नवीन पहल हो । यसले नियमित नसर्ने रोगसम्बन्धी सेवा र आपत्कालीन प्रतिकार्यबीचको खाडल पूरा गर्दै सेवा निरन्तरता, समानता तथा उत्थानशीलता सुनिश्चित गर्दछ । यसको संस्थागत अवलम्बनले जोखिममा रहेका समुदायको संरक्षण, स्वास्थ्य प्रणालीको तयारी सुदृढीकरण तथा विपद्को बीच पनि सुरक्षित भविष्य निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।
‘पेन–डी प्याकेज’ स्वास्थ्य तथा स्वच्छता मन्त्रालयको मार्गदर्शन तथा सहयोगमा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा विकास गरिएको हो । उक्त प्याकेज निर्माणमा डेनिस रेडक्रस, क्यानाडियन रेडक्रस तथा आरहुस विश्वविद्यालयबाट प्राविधिक सहयोग र नोभो नर्डिस्क फाउन्डेसनबाट आर्थिक सहयोग प्राप्त भएको थियो ।
‘पेन–डी प्याकेज’ ः सफल अभ्यास, सबै पालिकामा कार्यान्वयन आवश्यक
नेपाल रेडक्रस सोसाइटीले बर्सेनि बाढी तथा डुबानको उच्च जोखिममा रहेका कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा ‘उत्थानशील नसर्ने रोगः पश्चिम नेपालका विपद्–सम्भावित नगरपालिकाहरूमा नसर्ने रोग उपचार सेवाको उत्थानशीलता सुदृढीकरण’ कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य विपद्को समयमा नसर्ने रोग भएका व्यक्तिहरूलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने तथा स्थानीय स्वास्थ्य प्रणालीको क्षमता अभिवृद्धि गर्नु रहेको थियो ।
दुईवर्षे परियोजनाअन्तर्गत हालै विपद्को समयमा ‘पेन–डी प्याकेज’ प्याकेजको परीक्षण तथा कार्यान्वयन तयारीका लागि कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको थियो । विभिन्न प्रोटोकलहरूलाई आठवटा परिदृश्यमा आधारित अभ्यासमार्फत परीक्षण गरिएको थियो । अभ्यासमा पालिका, स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र, विषयगत शाखा, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था, स्थानीय समुदाय तथा विपद् व्यवस्थापन समितिको सक्रिय सहभागिता रहेको थियो ।
परियोजनालाई स्थानीय तह तथा प्रभावित समुदायले सफल अभ्यासका रूपमा मूल्याङ्कन गरेका छन् । भजनी नगरपालिकाका प्रमुख केवल चौधरीका अनुसार नगरपालिकाका नौवटै वडा बाढी तथा डुबानको उच्च जोखिममा रहेका छन् । विगत केही वर्षदेखि बाढी र डुबानका कारण मानवीय तथा भौतिक क्षति दोहोरिँदै आएको छ ।
उनका अनुसार पछिल्लो समय नसर्ने रोगको बढ्दो भारले बाढीको समयमा समुदायलाई झन् बढी जोखिममा पारेको छ । उनले भने “नसर्ने रोगको समस्या निरन्तर बढिरहेको छ । यसको प्रभाव न्यूनीकरण गर्न ‘पेन डी प्याकेज’ प्रभावकारी उपाय बन्न सक्छ । आगामी वर्षदेखि यसलाई नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गर्ने तयारी गरेका छौँ ।”
त्यस्तै, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले ‘रेजिलियन्स नसर्ने रोग उपचार सेवा’ परियोजना कार्यान्वयनपछि नसर्ने रोगसम्बन्धी धेरै जानकारी र अनुभव प्राप्त भएको बताए । उनले भने, “सरुवा रोगभन्दा नसर्ने रोगले मानिसलाई धेरै प्रभावित बनाइरहेको छ । उपचार खर्च पनि दिनानुदिन महँगो हुँदै गएको छ । झन् विपद्को समयमा यस्ता बिरामीको सेवा निरन्तरता सुनिश्चित गर्नु ठूलो चुनौती बन्छ । त्यसैले ‘पेन डी प्याकेज’लाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने निर्णय गरेका छौँ । यसमा सङ्घीय र प्रदेश सरकारको सहयोग आवश्यक छ ।”
इपिडिमियोलोजी तथ रोग नियन्त्रण महाशाखा, सामुदायिक स्वास्थ्यविज्ञ डा सबिन पराजुली तथा व्यवस्थापन महाशाखाका सुदीप आलेमगर ‘पेन डी प्याकेज’ प्रमाणीकरण तथा स्वास्थ्य प्रणालीभित्र आबद्ध गरेर सबै पालिकामा कार्यान्वयन आवश्यक रहेकामा जोड दिए ।
प्रकाशित समय : १५:३३ बजे



















