global ime bank Long Banner Ad

गृहपृष्ठ वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन

वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन

वीरगञ्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन

वीरगञ्ज । सङ्घीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई वीरगञ्ज महानगरपालिकाले हाजिर गर्नबाट अवरोध गर्दै आएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ फागुन १२ गतेको निर्णयानुसार वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेशमलाल कँडेललाई सरुवा गरिएको थियो । तर, वीरगञ्ज महानगरले प्रमुख प्रशासकीय अधिकृत कँडेललाई हाजिर गर्ने वातावरण भने तयार पारेको छैन ।

विगत १० दिनदेखि प्रमुख प्रशासकीय अधिकृत कँडेल वीरगञ्जमै हुनुहुन्छ । तर उहाँलाई महानगरपालिकाले हाजिर गर्न भने दिएको छैन । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सङ्घीय सरकारले गत फागुन १२ गते प्रमुख प्रशासकीय अधिकृत कँडेलको सरुवा गरेको भए पनि उहाँले वीरगञ्ज आउन ढिलाइ गरेको आरोप लगाए।

“उहाँ सरुवा हुनेबित्तिकै आउन चाहनुभएन्”, महानगर प्रमुख सिंहले भने, “अहिले उहाँ मन्त्रालयले ताकेता गरेपछि मात्रै आउन खोज्नुभएकाले पनि हाजिरी गराउन नखोजेका हौँ । हामीलाई उहाँभन्दा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिएमा राम्रो हुने थियो भन्दै आएका छौँ ।”

प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने आफू वीरगञ्जमै भए पनि महानगरको कार्यालयमा गएर हाजिरी गर्ने वातावरण नभएको जानकारी दिए ।

“विगत १० दिनदेखि वीरगञ्जमै बस्दै आएको छु । अहिलेसम्म महानगरमा हाजिर गर्ने वातावरण बनेको छैन । म अहिले पनि हाजिर हुने प्रतीक्षामा जिल्ला प्रशासन कार्यालयमा आएर बसिरहेको छु”, प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले अहिलेको सरकारले भन्दा पनि यसअघिको सरकारले प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेकाले हाजिर गराउने विषयमा वीरगञ्ज महानगरसँग समन्वय गरिरहेको बताए ।

“मन्त्रालय र वीरगञ्ज महानगरबीच समन्वय भइरहेको छ । केही दिनभित्रै अहिले देखिएको समस्या समाधान हुने विश्वास लिएका छौँ”, उनले भने ।

महानगर प्रमुख सिंहले प्रमुख प्रशासकीय अधिकृत नहुँदा यहाँको आर्थिक र प्रशासकीय काम रोकिएको दाबी गरे । मन्त्रालयले गत वैशाख ४ गते यसअघिका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णसँग रहेको आर्थिक र प्रशासनिक जिम्मेवारी हटाएको थियो । उनी महानगरका शिक्षा महाशाखाका १०औँ तहका कर्मचारी हुन् ।

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु