global ime bank Long Banner Ad

गृहपृष्ठ ‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा । लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित कृत्रिम पोखरी निर्माण भइसकेको पृष्ठभूमिमा राजदेवी चुरे सामुदायिक वनभित्र पर्ने ढोड्ना खोलाकिनारको १० बिघा क्षेत्रफलमा बृहत् पोखरीको शिलान्यास गरिएको हो ।

स्थानीय जनप्रतिनिधि तथा वातावरणविद्हरूले यस्तो परियोजना चुरे संरक्षण र पर्यापर्यटनका लागि कोसेढुङ्गा सावित हुने दाबी गरेका छन् । लहान नगरपालिका–१५ का वडाध्यक्ष तेजनारायण चौधरीले पोखरी निर्माणपछि चुरे फेदीका लाग्राहा र आसपासका किसानले राहत पाउने दाबी गरे ।

उनले भने “यस वडामा बन्ने नयाँ पोखरीले चुरे फेदीका लाग्राहा र आसपासका करिब पाँच सय बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ, जसले किसानको उत्पादकत्व बढाउन प्रत्यक्ष मद्दत पुग्नेछ ।” पोखरी निर्माणपछि पर्यापर्यटनसँगै कृषि क्षेत्रमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।

त्यस्तै, वातावरणविद् दिनेश यादवले पुराना आहाल र पोखरी मासिएका कारण चुरेमा पानीको मुहान सुक्दै गएको उल्लेख गर्दै यस कृत्रिम पोखरीले ‘वाटर रिचार्ज’ को मुख्य काम गर्ने दाबी गर्नुभयो । “जलवायु परिवर्तनको असरले चुरे आसपासका बस्तीमा पानीको सङ्कट भयावह बन्दैछ । पोखरीहरूले जमिनमा पानी रिचार्जको मुख्य काम गर्छन् । तर, पुराना आहाल र पोखरी नै मासिएपछि जमिन रिचार्ज हुन नपाएर पानीका मूल बर्सेनि सुक्दै गएका हुन् । बर्खाको पानीलाई यस्ता कृत्रिम पोखरीमा जम्मा गरी वरिपरिको जमिनलाई चिस्यानयुक्त बनाइराख्न यो परियोजनाले ठूलो मद्दत पुर्याउनेछ”, यादवले भने।

केयर नेपालका कार्यक्रम व्यवस्थापक जगदीश भट्टले पनि वन क्षेत्रभित्र बन्ने यस्ता पोखरीले वन्यजन्तुको तिर्खा मेटाउनुका साथै जैविक विविधता र माछापालनमा समेत बहुआयामिक फाइदा पुर्याउने दाबी गरे । उनले भने “यस्ता बहुउद्देश्यीय कृत्रिम पोखरी निर्माणले जैविक विविधताको संरक्षण, पर्यापर्यटनको प्रवर्द्धन, स्थानीयको जीविकोपार्जन र माछापालनमा सहयोग पुग्छ । यसका साथै स्थानीय किसानलाई सिँचाइको व्यवस्था हुनुका साथै जमिनमुनिको पानीको सतह बढाउन ‘वाटर रिचार्ज’को कामसमेत हुनेछ ।”

लहान नगरपालिकाको समन्वयमा केयर नेपाल, फेकोफन र राष्ट्रिय कृषक समूह महासङघको संयुक्त ‘संरक्षण परियोजना’ अन्तर्गत रु १० लाख ५१ हजारको आर्थिक सहयोग र नगरपालिकाको प्राविधिक सहयोगमा यो पोखरी आगामी एक महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

लहान नगरपालिकाले चुरे क्षेत्रको पर्यावरण र सुक्दै गएका पानीका मुहान जोगाउने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ । चुरे क्षेत्रको संरक्षण र स्थानीयको जीवनस्तर सुधारका लागि एकीकृत प्रयास आवश्यक रहेको उल्लेख गर्दै लहान नगरपालिकाका नगरप्रमुख महेश चौधरीले भन्नुभयो, “चुरे संरक्षण हाम्रा लागि जीवनमरणको सवाल बनेको छ । वनक्षेत्रमा पानीको सङ्कट हुँदा पर्यावरणमात्र होइन, तल्लो तटीय क्षेत्रको कृषिसमेत सङ्कटमा पर्छ । त्यसैले विभिन्न साझेदार संस्थाहरूसँग समन्वय गरेर हामीले चुरे क्षेत्रमा कृत्रिम पोखरी निर्माणलाई अभियानकै रूपमा अघि बढाएका छौँ । नगरपालिका यसको दिगो व्यवस्थापनका लागि सधैँ प्रतिबद्ध छ ।”

प्रकाशित समय : १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु