गृहपृष्ठ खोक्सिकवासीलाई निःशुल्क विद्युत्
खोक्सिकवासीलाई निःशुल्क विद्युत्
भोजपुर । जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको छ । वर्षौँदेखि अँध्यारोमा जीवन बिताउन बाध्य रहेका परिवारलाई उज्यालोको पहुँचमा ल्याउँदै जीवनस्तर उकास्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।
वडाले हालसम्म आठ दलित विपन्न परिवारका घरमा निःशुल्क विद्युत् जडान गरिसकेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिदेै आर्थिक अभावका कारण विद्युत् सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको भने । “वडाका विपन्न परिवारको घरमा निःशुल्क विद्युत् जडान गरिदिएका छौँ”, वडाध्यक्ष राईले भने, “आर्थिक अभावकै कारण अँध्यारोमा बस्नुपरेका परिवारलाई उज्यालो दिने हाम्रो सानो प्रयास हो ।”
विद्युत् सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बालबालिकाको अध्ययन, घरेलु कामकाज तथा सुरक्षामा समेत सकारात्मक प्रभाव परेको उनको भनाइ छ । वडाले रु दुई लाख बजेट विनियोजन गरेर आवश्यक सहयोग गरेको वडाध्यक्ष राईले बताय । वडाले आगामी दिनमासमेत विपन्न तथा लक्षित वर्गका लागि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
प्रकाशित समय : १०:१२ बजे



















