गृहपृष्ठ नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै
नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा पहिरो नियन्त्रणको काम गरिने भएको छ । डिभिजन सडक कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएको छ ।
सो सडकखण्डका नाम्सिखोला, कालिखोला र तुइन खोलामा पहिरो नियन्त्रणका काम गर्न लागिएको हो । कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नाम्सिखोलाको दुवै तर्फको भित्तोमा पहिरो रोकथामको काम गरिँदै छ ।
नारायणगढबाट ३२ दशमलव एक किलोमिटर मुग्लिनतर्फ खोलो पर्दछ । जसको नारायणगढ तर्फको डाँडोको उचाइ १२० मिटर र मुग्लिन तर्फको उचाइ ९० मिटर रहेको छ ।
यसैगरी, कालिखोलाको दायाँबायाँको भित्तोको पहिरो रोकथामको काम गरिने छ । नाम्सिखोलाबाट ५०० मिटर मुग्लिनतर्फ पर्ने यो खोलामा नारायणगढ तर्फको भित्ताको उचाइ ६० मिटर र मुग्लिनतर्फको उचाइ ५० मिटर छ ।
सोही सडकको तुइन खोलामा नारायणगढतर्फ रहेको १०५ मिटर अग्लो भित्तोको पहिरो रोकथामको कार्य अगाडि बढाइने भएको छ । यो ठाउँ नारायणगढबाट ३३ दशमलव नौ किलोमिटर टाढा रहेको छ ।
इन्जिनियर घिमिरेका अनुसार यी तिनै ठाउँमा भित्तामा चार मिटर ड्रिल गरेर रड भित्र छिराएर बाहिरबाट तारा जालीले बाँधिने छ । यो प्रविधिलाई ‘रक नेटिङ’ भनिन्छ ।
भित्र रहेको रडले जाली अढ्याउने र जालीले ढुङ्गामाटो भित्र अढ्याउँछ । घिमिरेका अनुसार जाली लगाएपछि बायोइन्जिनियरिङ विधिको प्रयोग गरी पुरै डाँडो हरियाली बनाइने छ ।
यो सडक खण्डमा रहेका ४३ वटा पहिरोको जोखिम ठाउँमध्ये तीन उच्च जोखिमका ठाउँलाई मात्र पहिरो रोकथामका लागि बजेट पुगेको हो ।
क्रमशः बजेट सुनिश्चित भएसँगै अन्य ठाउँको पहिरो रोकथामको काम गरिने छ । ती तीन वटा पुललाई दुई वटा प्याकेज बनाएर सडक कार्यालयले बोलपत्र आह्वान गरेको हो ।
इन्जिनियर घिमिरेका अनुसार पहिलो प्याकेज तुइनखोला र नाम्सिखोलाको मुग्लिनतर्फ पर्दछ । यसको वैशाख २५ गते बोलपत्र आह्वान गरिएको छ ।
दोस्रो कालिखोलाको दुवैतर्फ र नाम्सिखोलाको नारायणगढतर्फको वैशाख २९ गते बोलपत्र आह्वान गरिएको हो । यी दुवै प्याकेजको बजेट ४२ करोड ४० लाख रहेको छ ।
खरिद प्रक्रिया पूरा गरी काम गर्दा असारको अन्तिम साता पुग्ने अनुमान छ । ठेक्का लागेसँगै सुरुमा झर्न लागेका माटाका ढिस्का र ढुङ्गा झारिने घिमिरेले जानकारी दिए ।
बर्सातको समयमा पानी पर्दा हिलोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो खस्ने गर्दछ । यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन आवतजावत गर्दछन् । राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य सडकका रूपमा यो रहेको छ ।
प्रकाशित समय : १८:१६ बजे



















