गृहपृष्ठ राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता
राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता
काठमाडौँ । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र रोयल थाई प्रहरीअन्तर्गत सीमासम्बन्धी साइबर अपराध तथा मानव बेचविखन विरुद्धको विशेष कार्यदलका निर्देशक डा थाचाइ पितानीलबुटबीच भेटवार्ता भएको छ ।
थाइल्याण्डमा आज भएको भेटमा उहाँहरूबीच आपसी हितका क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ गर्ने विभिन्न उपायहरूबारे छलफल भएको दूतावासले जनाएको छ । सो अवसरमा विशेषगरी मानव बेचविखन, तस्करी, अनलाइन ठगी तथा साइबर अपराध नियन्त्रण, साथै गुप्तचर तथा सूचना आदानप्रदान र क्षमता अभिवृद्धिसम्बन्धी सहकार्यलाई मजबुत बनाउने विषयमा विचार विमर्श भएको थियो ।
दुवै पक्षबीच थाइल्याण्डलाई ट्रान्जिट विन्दुका रूपमा प्रयोग गर्दै मानव बेचविखनमा संलग्न समूहहरूले पर्यटक भिसा सुविधाको बढ्दो दुरूपयोग गरिरहेको विषयमा विचार आदानप्रदान गरेको थियो । सो अवसरमा राजदूत ओलीले थाइल्याण्ड तथा छिमेकी मुलुकहरूमा बेचविखनमा परेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्ताका लागि रोयल थाइ प्रहरीले प्रदान गरेको सहयोगप्रति प्रशंसा व्यक्त गर्नुभएको थियो । दुवै पक्षले छिमेकी मुलुकहरूमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्रहरूको बढ्दो समस्याबारे समीक्षा गर्दै त्यस्ता ठगी केन्द्रहरूमा बेचविखनमा परेका व्यक्तिहरूको उद्धारका लागि अझ नजिकको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
प्रकाशित समय : १८:०७ बजे



















