गृहपृष्ठ विधुतीकरण योजना अलपत्र
विधुतीकरण योजना अलपत्र
म्याग्दी । धवलागिरी गाउँपालिका–४ मुदीमा सञ्चालित बिधुतीकरण योजना अलपत्र परेको छ । मुदी र खाम्लामा बिधुतीकरण गर्न सञ्चालित योजना नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रको बेवास्ता तथा निर्माण व्यवसायीको लापरबाही कारण अलपत्र परेको हो । गत चैत–वैशाख महिनामै वायरिङ गरेका स्थानीय बासिन्दा अझै बिजुली नबल्दा निराश भएका छन् ।
“बिजुली बल्ने आशामा काँध खुइलिने गरी पोल ढुवानी गरेर गाडेको पनि सात महिना पुग्यो,” स्थानीयबासी धनबहादुर पुर्जाले भने, “घरमा वायरिङ गरेपनि मुख्य लाइन विस्तार नगर्दा बिजुली बाल्ने सपना अधुरो भयो ।” मुदीका २५५ र खाम्लाका ६५ गत वैशाखमै बिजुली बाल्ने लक्ष्य थियो । मच्छिमदेखि मुना हँुदै मुदी र खाम्लासम्म मुख्य तथा केही ठाउँमा शाखा लाइनको तार ताल्ने काम बाँकी छ । मुख्य र शाखा पोल गाडिएको छ ।
हालै मुदी सडक यातायातमा जोडिएको छ । मुदी र खाम्लाका बासिन्दा उज्यालोका लागि अहिले सोलार र मट्टितेलको टुकीमा निर्भर छन् । विद्युत प्राधिकरणमा पटक–पटक ध्यानाकर्षण र ताकेता गरेपनि बेवास्ता गरेका गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । “ठेकेदारले प्राधिकरणलाई, प्राधिकरणले प्रदेश कार्यालयलाई दोष देखाउँछन्,’ उनले भने ‘छिट्टै बिजुली बलेर जनताले सुबिधा पाउलान भनेर हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गर्नुको उद्देश्य पुरा भएन् ।’ मुदीमा विद्युतीकरण भएपछि धवलागिरीलाई उज्यालो पालिका धोषणा गर्ने गाउँपालिकाको तयारी छ ।
ठेकेदार कम्पनीका प्रतिनिधि दिनेश थापाले विद्युत प्राधिकरणले तार र पोलमा राख्ने सामग्री उपलब्ध नगराएकाले काम गर्न नसकेको बताए । पोखरास्थित प्रदेश कार्यालयले तार उपलब्ध नगराएकाले विद्युतीकरणको काम प्रभावित भएको विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख माधव महतले बताए । “प्रदेश कार्यालयबाट तार आउने बित्तिकै फिल्डमा पठाएर तान्न लगाउँछौ,” उनले भने “तिहार लगत्तै बिजुली बाल्ने लक्ष्यसहित पहल गरेका छौँ ।”
धवलागिरी गाउपालिका—७ मा पर्ने साविक ताकम गाविसका करिब ८०० र वडा नं. ६ मराङको करिब १५० घरमा मात्र केन्द्रीय प्रशारण लाइनको विद्युत् पुगेको छ । गत वर्ष वडा नं. २ लुलाङमा लघुजलविद्युत् र वडा न. ४ कै बगरमा सौर्य ऊर्जामार्फत विद्युतीकरण गरिएको छ । गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत् परियोजनामार्फत विद्युतीकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामध्ये कुनै एक माध्यमको विद्युत सुविधा पु-याउने गाउँपालिकाको योजना छ । लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकारमार्फत हालै ५० वाट क्षमताको सोलार सेट बितरण गरिएको थियो । (रासस)
प्रकाशित समय : १७:०३ बजे


















