गृहपृष्ठ “दम (आस्थमा) भएका सबैलाई एन्टी-ईन्फलामेटरी ईनहलेरमा पहुँच – अहिलेको प्रमुख आवश्यकता”
“दम (आस्थमा) भएका सबैलाई एन्टी-ईन्फलामेटरी ईनहलेरमा पहुँच – अहिलेको प्रमुख आवश्यकता”
दम (आस्थमा) विश्वव्यापी रूपमा एक महत्वपूर्ण जनस्वास्थ्य चुनौतीको रुपमा देखा परेको छ।विश्वभर करिब २६ देखि ३० करोड मानिसहरू दम रोगबाट प्रभावित रहेको अनुमान गरिएको छ, जसले बालबालिका, किशोरकिशोरी, वयस्क तथा वृद्ध सहित सबै उमेर समूहका मानिसहरूलाई प्रभावित गर्दछ।
नेपालको सन्दर्भमा, उपलब्ध अध्ययन तथा तथ्यांकका आधारमा करिब ६–८ प्रतिशत जनसंख्या दमबाट प्रभावित देखिन्छ।तीव्र शहरीकरण, बढ्दो वायु प्रदूषण तथा मौसमीय तथा जलवायु परिवर्तनका प्रभावका कारण दमको जोखिम निरन्तर बढ्दो क्रममा रहेको छ।
दमले केवल श्वासप्रश्वास प्रणालीमा मात्र नभई व्यक्तिको सम्पूर्ण जीवनशैलीमा गहिरो असर पार्दछ। यसका कारण विद्यालय तथा कार्यस्थलमा अनुपस्थिति बढ्ने, शारीरिक गतिविधिहरूमा सीमितता आउने, निद्रामा समस्या हुने र निरन्तर थकान महसुस हुने जस्ता समस्या देखापर्छन्। साथै, दमले मानसिक स्वास्थ्यमा पनि असर पार्दै तनाव, डर र चिन्ता बढाउन सक्छ, जसले समग्र जीवनको गुणस्तर घटाउँछ। विशेषगरी बच्चाहरूमा दमले उनीहरूको शारीरिक विकास, शैक्षिक उपलब्धि तथा सामाजिक गतिविधिमा प्रत्यक्ष रूपमा बाधा पुर्याउने हुँदा अझ गम्भिर समस्याको रुपमा रहेको छ।तथापि, दम अझै पनि कम पहिचान हुने भएकाले धेरै बिरामीहरूले प्रर्याप्त उपचार नपाउने चुनौती विद्यमान छ।
स्वास्थ्य संस्थाहरूमा दम उपचारका आधारभूत सामग्रीहरू, विशेषगरी इनहेल्ड कोर्टिकोस्टेरोइडयुक्त (एन्टी-ईन्फलामेटरी) इनहेलरहरू को उपलब्धता कम हुनु वा मूल्य अत्यधिक महँगो हुनुका कारण विश्वभर हुने दमसम्बन्धी करिब ९६% मृत्यु हाम्रा जस्तो निम्न तथा मध्यम आय भएका देशहरूमा हुने गरेको पाइन्छ।उच्च आय भएका देशहरूमा समेत औषधिको उच्च लागतका कारण धेरै दमका बिरामीहरूले आवश्यक इनहेलरमा पूर्ण पहुँच पाउन सकिरहेका छैनन्, जसले गर्दा दम राम्रोसँग नियन्त्रणमा नआउने र रोकथाम योग्य मृत्युहरू समेत हुने अवस्था सिर्जना भइरहेको छ।
दम (आस्थमा) को प्रभावकारी पहिचान र व्यवस्थापनका लागि स्वास्थ्यकर्मीहरूमा आवश्यक ज्ञान र सीप हुनु अत्यन्तै महत्वपूर्ण छ। धेरै अवस्थामा दमको अन्य श्वासप्रश्वास सम्बन्धि रोगहरूसँग लक्षण मिल्न जानाले गलत रूपमा निदान हुने गरेको पाइन्छ , जसले गर्दा सही उपचार नहुन सक्छ। साथै इनहेलरको सट्टा मुखमार्फत वा सुईमार्फत दिने औषधिमा बढी निर्भर हुने प्रवृत्ति अझै देखिन्छ, जुन सधैं प्रभावकारी हुँदैन।त्यसैले, उपचारमा ढिलाइ तथा आवश्यक औषधिको अभावका कारण जटिलता बढ्ने जोखिम रहन्छ।
विश्व दम (आस्थमा) दिवस प्रत्येक वर्ष दम रोगप्रतिको जनचेतना अभिवृद्धि, समयमै निदान, प्रभावकारी उपचार तथा दीर्घकालीन व्यवस्थापन प्रवर्द्धन गर्ने उद्देश्यले मनाइन्छ। विश्वव्यापी रूपमा दम व्यवस्थापनमा सुधार ल्याउनु र यस रोगबारे सही बुझाइ विस्तार गर्ने उद्धेश्यले यो दिवस सन् १९९८ मा ग्लोबल इनिसिएटिभ फर आस्थमा (Global Initiative for Asthma)द्वारा सुरु गरिएको हो।यस वर्षको नारालाई सफल बनाउन सबै सरोकारवालाहरू, नीतिनिर्माता, स्वास्थ्यकर्मी, समुदाय तथा साझेदार संस्थाहरू बीच सहकार्य आवश्यक छ ।तसर्थ, “दम (आस्थमा) भएका सबैलाई एन्टी-ईन्फलामेटरी ईनहलेरमा पहुँच- अहिलेको प्रमुख आवश्यकता” भन्ने लक्ष्य हासिल गर्न सबैलाई आफ्ना प्रयासहरू अझ सुदृढ बनाउन हार्दिक आह्वान गरिन्छ।
प्रकाशित समय : १७:४३ बजे




















