विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर मा आगामी वैशाख २१ गते आयोजना हुन लागेको ‘वुमन लिडरसिप समिट द्दण्द्दट’ ले स्थानीय उद्यमशीलता, कृषि र नवप्रवर्तनलाई महिला नेतृत्वसँग जोड्दै क्षेत्रीय अर्थतन्त्रमा नयाँ बहस सुरु गर्ने संकेत दिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) को आयोजनामा हुन लागेको यस सम्मेलनलाई केवल औपचारिक कार्यक्रमभन्दा पनि कोशी प्रदेशको आर्थिक संरचनालाई पुनः परिभाषित गर्ने अवसरका रूपमा हेरिएको छ ।
बिहीबार विराटनगरमै आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले समिटको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै यस पटक कार्यक्रमको केन्द्रमा “स्थानीय अवसर र महिला नेतृत्व” लाई राखिएको स्पष्ट पारे। समिटकी संयोजक गिरिजा सारडा का अनुसार सम्मेलनले कोशी प्रदेशका महिलालाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम संरचना तयार गरिएको छ ।
उनले स्थानीय स्रोत–साधन, सीप र सिर्जनशीलतालाई बजारसँग जोड्न नसक्दा महिलाहरूको क्षमता पूर्ण रूपमा उपयोग हुन नसकेको उल्लेख गर्दै यो समिटले त्यही खाडल पूर्ति गर्ने प्रयास गर्ने बताइन् । ‘महिलालाई उद्यमशीलतामा प्रेरित गर्नु मात्र होइन, उनीहरूको उत्पादन र सीपलाई बजारसँग जोड्ने वातावरण सिर्जना गर्नु पनि हाम्रो लक्ष्य हो,’ उनले भनिन् ।
कोशी प्रदेश महिला उद्यम समितिकी संयोजक रचना राठीले विशेष गरी ग्रामीण र अर्धसहरी क्षेत्रका महिलालाई लक्षित गर्दै कार्यक्रम तयार गरिएको बताइन्। उनका अनुसार स्थानीय स्तरमा उपलब्ध कृषि, पशुपालन र साना उद्योगसँग सम्बन्धित अवसरहरूलाई व्यावसायिक ढाँचामा रूपान्तरण गर्न समिटले मार्गदर्शन गर्नेछ । ‘महिलालाई रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने स्थानमा पु¥याउनु हाम्रो लक्ष्य हो,’ उनले भनिन् ।
समिटमा कृषि, पशुपालन, उत्पादन र डिजिटल प्रविधिबिचको सम्बन्धलाई जोड्दै मूल्य शृङ्खला विकासबारे गहन छलफल हुने जनाइएको छ। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने रणनीति, डिजिटल प्लेटफर्मको प्रयोग र वित्तीय पहुँच विस्तारजस्ता विषयहरू प्रमुख एजेन्डा रहनेछन् ।
परिसंघ कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाले प्रदेशको आर्थिक विकासलाई तीव्र बनाउन महिला सहभागिता निर्णायक हुने बताए । उनले औद्योगिक र व्यावसायिक क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गए पनि नेतृत्व तहमा अझै चुनौती रहेको उल्लेख गर्दै यस्ता सम्मेलनले नेतृत्व निर्माणमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
केन्द्रीय उपाध्यक्ष भीम घिमिरे ले पनि महिला सशक्तीकरणलाई आर्थिक एजेन्डासँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै समिट त्यस दिशामा केन्द्रित हुने बताए । त्यस्तै कोशी प्रदेश अध्यक्ष पवन सारडा ले प्रत्येक क्षेत्रमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रले समेत सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले गर्ने तय भएको छ । सम्मेलनमा उद्योग, बैंकिङ, कृषि, प्रविधि तथा नीतिगत क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ, जसले बहु आयामिक छलफलको वातावरण तयार गर्ने अपेक्षा गरिएको छ ।




















