global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेपाल कृषि प्रधान देश भएकाले कृषि प्रधान नीति बनाउनुपर्नेमा जोड

नेपाल कृषि प्रधान देश भएकाले कृषि प्रधान नीति बनाउनुपर्नेमा जोड

नेपाल कृषि प्रधान देश भएकाले कृषि प्रधान नीति बनाउनुपर्नेमा जोड

काठमाडौँ । नेपालजस्तो कृषि प्रधान देशमा कृषिमा आधारित नीति बनाइनुपर्नेमा जोड दिइएको छ । एसोसिएसन अफ एग्रीकल्चर टेक्नोलोजी इण्डष्ट्री नेपालले आज यहाँ आयोजना गरेको ‘कृषि उद्योग उत्पादन राष्ट्रिय नीति संवाद’ कार्यक्रममा सरोकार भएकाहरूले कृषिलाई प्राथमिकता दिएर नीति निर्माण गरिनुपर्नेमा जोड दिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले नीति बने पनि कार्यान्वयन फितलो भएकाले कृषिमा प्रभावकारी काम हुन नसकेको बताए । “केही वर्षअघि नेपालबाट खाद्यान्न निर्यात हुन्थ्यो, अहिले आयात गर्छौं । यसमा हामी कहाँ चुक्यौँ, समीक्षा हुनुपर्छ । वास्तविक किसानले अनुदान नपाउँदा पनि कृषि क्षेत्रको विस्तार हुन सकेको छैन”, उनले भने ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले आयातमा निर्भर कृषि प्रणाली भएर समस्या भएकाले यस विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग आवश्यक छलफल गरिने बताए । स्वदेशमै कृषि उद्यम गरेर जीविकोपार्जन गर्नसक्ने वातावरण बनाउने गरी काम गर्ने  प्रतिबद्धता व्यक्त गरे ।

“कृषिमा प्रविधि पनि जोडेर लैजाने गरी नीति र कानुन बनाइनुपर्छ, कृषिलाई उद्योगसँग जोडेर लैजानुपर्ने आवश्यकता छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने गरी नीति, कानुन बनाएर कृषि क्षेत्रलाई अघि बढाउने र किसानलाई प्रोत्साहन गर्ने योजना बनाउने छौँ”, सभापति चौधरीले भने ।

समिति सदस्यसमेत रहेकी सांसद गङ्गालक्ष्मी अवालले वातावरणमैत्री र प्राङ्गारिक कृषिप्रणाली विकास गरिनुपर्नेमा जोड दिए । किसानलाई हेयको दृष्टिले हेर्ने परम्पराको अन्त्य गरी अन्नदातालाई सबैभन्दा माथिल्लो चरणको मान्ने गरी काम गरिनुपर्ने उनको भनाइ छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यसमेत रहेका सांसद मदनकृष्ण श्रेष्ठले नेपालमा ६२ प्रतिशत कृषिमा निर्भर जनसङ्ख्या रहेकाले कृषिसम्बन्धी कानुन र नीति मस्यौदामा विशेष ध्यान दिने प्रतिबद्धता जनाए । अहिले सबैभन्दा राम्रो सम्भावना भएको क्षेत्र कृषि हो उनले भने ।

कृषि समिति सदस्यसमेत रहेकी सांसद गीता लिङ्देनले कृषि क्षेत्रमा देखिएका समस्या समाधानमा काम गर्ने वाचा गरे । आयोजक समितिका अध्यक्ष खोजराज कटुवालले कृषि नीति उत्पादन र उद्योगमैत्री बनाइनुपर्ने माग गरे । सरकारले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण भनेर ट्याक्टर बाँड्न थालेको १५ वर्ष पूरा भइसक्दा एउटा पनि यस्ता यन्त्र बनाउने कृषि उद्योगसमेत खोल्न नसक्नु दुःखद् भएको उनको भनाइ छ ।

प्रकाशित समय : १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु