global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ युवराज सफललाई ५० हजार धरौटीमा छाड्ने आदेश

युवराज सफललाई ५० हजार धरौटीमा छाड्ने आदेश

युवराज सफललाई ५० हजार धरौटीमा छाड्ने आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका युवराज पौडेल (सफल)लाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश कौशलेश्वर ज्ञवालीको इजलासले सो आदेश गरेको हो । पौडेल यसअघि हाजिरी जमानीमा छुटेका थिए । आज थुनछेक आदेश गर्दै अदालतले धरौटी रकम बुझाएर तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न भनेको छ ।

धरौटी बुझाउन नसकेको खण्डमा उनलाई थुनामा पठाउन न्यायाधीशले भनेका छन् । पौडेल विरुद्ध नेपाल सरकारले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा मुद्दा दायर गरेको थियो ।

उनले महान्यायाधिवक्ताको मानमर्दन हुने, घृणा र द्वेष फैलाउने खालका भ्रामक भिडियो सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

अदालतमा बयान दिने क्रममा प्रतिवादी पौडेलले गल्ति महसुुस गर्दै माफी मागेका थिए । रवि लामिछाने विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरू महान्यायाधिवक्ताको कार्यालयले फिर्ता लिन खोजेको सुनेपछि ‘आवेगमा आएर’ बोलेको उनले स्वीकार गरेका छन् । विवादित भिडियोहरू सामाजिक सञ्जालबाट हटाइसकेको जानकारी समेत पौडेलले दिएका थिए ।

 

प्रकाशित समय : १०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु