global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ हेल्प नेपाल नेटवर्कको परोपकार र मानवीय सेवा यात्रा जारी

हेल्प नेपाल नेटवर्कको परोपकार र मानवीय सेवा यात्रा जारी

हेल्प नेपाल नेटवर्कको परोपकार र मानवीय सेवा यात्रा जारी

काठमाडौँ । नेपालीद्वारा नेपाल र नेपालीका लागि सञ्चालित परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले गत वर्ष पनि शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, प्राकृतिक विपत्तिदेखि पुनः स्थापनासम्म नेपालका दूर दराजका गाउँघरमा आशा र उज्यालो फैलाउँदै सेवा यात्रा जारी राखेको छ।

हेल्प नेपाल नेटवर्कले वि सं २०८२ मा देशका दुर्गम भूभागदेखि सहरसम्म विभिन्न समुदायमा शिक्षा, स्वास्थ्य, बाल संरक्षण, महिला सशक्तीकरण र आपत्कालीन राहतका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै हजारौँ नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको जनाएको छ ।

‘जहाँ आवश्यक छ त्यहीँ सेवा’ भन्ने भावनासहित स्थापित हेल्प नेपाल नेटवर्क आज पनि करुणा, सहानुभूति र मानवीय सेवाको क्षेत्रमा अविचलितरुपमा लागि रहेको छ,’ हेल्प नेपाल नेटवर्कका ग्लोबल संयोजक डिला खरेलले भने। ‘हामी विदेशमा बस्छौँ, तर हाम्रो मुटु अझै नेपालकै लागि धड्किन्छ ।’

‘नेपालका लागि महिनाको एक डलर वा एक पौण्ड’ भन्ने नारा अघि सार्दै हेल्प नेपालले व्यावहारिक परोपकारको संस्कृतिलाई विश्वभर फैलाइरहेको उनले जनाए।

नेटवर्कले २०८२ मा शिक्षा क्षेत्रमा उल्लेख्य गतिविधि गरेको जनाएको छ । राजकुलेश्वर आधारभूत विद्यालय दोलखामा १ जना इङ्ग्लिस मिडियम शिक्षक र १ जना मन्टेश्वरी केयरटेकरका लागि एक वर्षको तलब सहयोग गरेको छ ।

पञ्चकन्या आधारभूत विद्यालयमा ४ शिक्षकको तलब तथा अतिरिक्त पाठ्यक्रम पुस्तक खरिद सहायता गरेको जनाएको छ । खापरमास्ता आधारभूत विद्यालय, कालिकोटमा ५३ सेट ट्र्याक सुट वितरण गरेको थियो ।

राजखुलेश्वर आधारभूत विद्यालय,दोलखामा काठमाडौँ विश्वविद्यालयका स्वयंसेवकहरूले भ्रमण गरी हाईटेक प्रयोगशालाको कार्य प्रदर्शन कस्तो भइरहेको छ भन्ने विषयमा अनुगमन तथा सर्वेक्षण गरेको छ । यो परियोजना नेटवर्कद्वारा राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा, महावीर पुनको नेतृत्वमा कार्यान्वयन गरिएको थियो।

आपतकालीन उद्धार, मानवीय सेवा, राहत कार्य र स्वयंसेवा

केही समय अघिको बाढी, पहिरोका बेला हेल्प नेपालले तत्काल राहतसहित प्रभावित परिवारहरूसँग हातेमालो गरेको थियो । इलाम जिल्लाका वडा नम्बर ६, ७ र ८ का बाढी प्रभावित परिवारहरूलाई २२ थान त्रिपाल वितरण गरेको जनाएको छ ।

त्यस्तै, इलाम जिल्लाका वडा नम्बर १०, ६ र ५ का बाढी पीडितहरूका लागि २० वटा अस्थायी टेन्ट घर निर्माण गरेको थियो । धर्मी हल्फा महिला विकास क्लब, सप्तरीसँग समन्वयमा जाडोबाट प्रभावित व्यक्तिहरूलाई ५० थान कम्बल सप्तरीमा वितरण गरेको थियो ।

हेल्प नेपाल बालगृह, धुलिखेल

हेल्प नेपाल नेटवर्कद्वारा सञ्चालित धुलिखेल बालगृहमा २२ बालिकाहरूले सुरक्षित आवास, गुणस्तरीय शिक्षा र जीवन–कौशल सिकिरहेका छन्।

यस वर्ष चार जना छात्राहरूले २०८२ सालको एसइई परीक्षामा उत्तीर्ण गरेका छन् । रञ्जिता चेपाङले ३.२० जिपिए प्राप्त गरेकी छन् भने सपना प्रजाले ३.२३ जीपीए हासिल गरेकी छन्। त्यस्तै, प्रतिका प्रजाले ३.४३ जीपीए प्राप्त गरेकी छन् र अंशु सोडारीले ३.३२ जीपीए हासिल गरेकी छन्। बालिकाहरूले एसइईमा उत्कृष्ट नतिजा ल्याई संस्थाको गौरव बढाए ।

त्यस्तै, बालगृहकी प्रतिभाशाली विद्यार्थी सिता सिंहले १२ मा जीपीए ३.२४ प्राप्त गरी उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरिन्। सामाजिक लेखा परीक्षण, सार्वजनिक सुनुवाइ र समीक्षा बैठक निर्देशित पारदर्शिता र जबाफदेहिताप्रति संस्थाको उच्च प्रतिबद्धताको उदाहरण बने।

बालिकाहरूले पोखरा, लुम्बिनी, सुनौली र पाल्पाको चार दिने शैक्षिक तथा सांस्कृतिक भ्रमणमा सहभागी भई व्यावहारिक ज्ञान, आत्मविश्वास र सांस्कृतिक अनुभव बटुले।

धुलिखेल अस्पतालका पाँच जना प्रतिनिधिहरूले हेल्प नेपाल बालगृह, धुलिखेल भ्रमण गरी बालिकाहरूका लागि दाँत सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरे। धुलिखेल अस्पतालले प्रत्येक बालिकाहरूलाई एक–एक वटा दाँत माझ्ने ब्रस र टुथपेस्ट प्रदान गरे ।

हेल्प नेपाल बालगृहका पाँच जना बालिकाहरूले बागमती प्रदेश अन्तर–विद्यालय तेक्वान्दो प्रतियोगितामा सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे।

काभ्रे जिल्लाका प्रमुख जिल्ला सरकारी वकिल सहित अन्य अधिकृतहरूले हेल्प नेपाल बालगृह, धुलिखेलमा बसोबास गर्ने बालिकाहरूका लागि कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जानकारीमूलक कार्यक्रम सञ्चालन गरेका थिए ।

धुलिखेल अस्पतालका प्रतिनिधिहरूले हेल्प नेपाल बालगृह धुलिखेलमा गई लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रियात्मक सचेतना कार्यक्रम सञ्चालन गरे ।

थेम्स इन्टरनेशनल कलेजमा मनोविज्ञान तथा सामाजिक कार्य विषय अध्ययनरत विद्यार्थी दीपा पोखरेल, हेल्प नेपाल बालगृह, धुलिखेलमा ‘अनाथालयमा बस्ने बालबालिकाहरूको मनोवैज्ञानिक कल्याण’ विषयमा अनुसन्धान गरेका छन् ।

अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा लियो क्लब अफ काठमाडौँ स्काइका स्वयंसेवकहरूले बाल गृहमा ‘स्म्याश स्टेरियोटाइप्स, नट ड्रीम्स’ शीर्षकको अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरे ।

सीता सिंह र बिपिना प्रजाको लागि बिदाइ कार्यक्रम आयोजना गरेको थियो । धुलिखेल नगरपालिकाका विभिन्न निवासीहरूले हेल्प नेपाल बालगृहका लागि आवश्यक सामग्रीहरू उदारतापूर्वक दान गरे । विभिन्न चाडपर्वहरू र छात्राहरूको जन्मदिन हेल्प नेपाल बालगृहमा उल्लासका साथ मनाउने गरेको छ ।

हेल्प नेपाल स्वास्थ्य चौकी, मुगु

विकट मुगु जिल्लामा सन् २००४ मा स्थापना गरिएको हेल्प नेपाल स्वास्थ्य चौकी–मुर्माले बर्सेनि करिब २००० भन्दा भन्दा बढी मानिसलाई प्राथमिक र आपत्कालीन स्वास्थ्य उपचार प्रदान गर्दै आएको छ । हेल्प नेपाल हेल्थपोस्ट, मुगुले धुलिखेल अस्पतालसँगको सहकार्यमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, रारा नगरपालिका–९, मुर्मा गाउँमा निःशुल्क दन्त शिविर आयोजना गरेको थियो ।

उक्त शिविरमा दाँत निकाल्ने, दाँत सफा गर्ने तथा मुख स्वास्थ्य सम्बन्धी परामर्श सेवाहरू प्रदान गरियो। गाउँ तथा आसपासका क्षेत्रबाट कुल ४५ जना सेवाग्राहीहरूले शिविरमा सहभागिता जनाएका थिए।

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–९ अन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, रारामा ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूका लागि भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गरियो। उक्त कार्यक्रममा कुल २९ जना बालबालिका (१४ जना बालिका र १५ जना बालक) लाई औषधि खुवाइएको थियो ।

मुगु गाउँमा सुनौलो हजार दिन सम्बन्धी सचेतना तथा परामर्श कार्यक्रम सञ्चालन गरियो। गर्भावस्थादेखि बच्चाको पहिलो दुई वर्षसम्मको महत्त्वपूर्ण अवधि लक्षित गरी आमाहरूका लागि विशेष सचेतना तथा परामर्श सत्र सञ्चालन गरिएको थियो।

उक्त अन्तरक्रियात्मक सत्रमा गर्भावस्था तथा प्रारम्भिक बाल्यकालमा आवश्यक पोषण तत्त्व, सन्तुलित आहार तथा स्वास्थ्य सम्बन्धी आवश्यक सल्लाह सुझाव प्रदान गरिएको थियो ।

हेल्प नेपाल हेल्थ पोस्ट, रारा, मुगुले नियमित मासिक खोप कार्यक्रम सञ्चालन गरियो। उक्त कार्यक्रममा बालबालिकाहरूलाई आवश्यक खोपहरू प्रदान गरियो। अभियानका क्रममा कुल ३२ जना बालबालिकाले खोप प्राप्त गरे, जसमा १८ जना बालक र १४ जना बालिका रहेका थिए ।

हेल्प नेपाल हेल्थ पोस्ट, मुगुले कर्मा रोङ गाउँपालिकाको स्वास्थ्य शाखासँग समन्वय गरी मुगुको छायानाथ रारा नगरपालिकाका सबै १४ वडामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

त्यस्तै हेल्थ पोस्टले कर्णाली माध्यमिक विद्यालयका कक्षा ९ का विद्यार्थीहरूका लागि स्वास्थ्य शिक्षा तथा बालविवाह सम्बन्धी सचेतना कार्यक्रम आयोजना ग-यो । सामान्य चिसो, खोकी र भाइरल ज्वरो जस्ता जाडो मौसमसँग सम्बन्धित स्वास्थ्य समस्याहरूमा केन्द्रित हुँदै विभिन्न गाउँहरूमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो ।

‘हामी विश्वभर रहनु भएका सबै नेपाली र नेपालका मित्रहरूलाई विपन्न समुदायको सहयोगमा सक्दो सहयोग गर्न आह्वान गर्दछौँ,’ हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्नेतले भने । उनले परोपकारलाई आफ्नो जीवनशैली बनाउन र सेवा र स्वयंसेवाको संस्कार फैलाउन पनि आग्रह गरे।

प्रकाशित समय : १०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु