गृहपृष्ठ आज रुवाण्डाविरुद्ध जितको खोजीमा नेपाल
आज रुवाण्डाविरुद्ध जितको खोजीमा नेपाल
काठमाडौं । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज रुवाण्डाको सामना गर्दैछ। प्रतियोगिता अन्तर्गतको आफ्नो छैटौँ खेलमा नेपाल जितको लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छ। दुई टोलीबीचको यो प्रतिस्पर्धा नेपाली समय अनुसार आज दिउँसो १२:४५ बजे सुरु हुनेछ।
यसअघि खेलेका ५ खेलमध्ये नेपालले २ जित र ३ हारको नतिजा आत्मसात गरेको छ। प्रतियोगितामा नेपालले अमेरिकासँगका दुवै खेल र भानुआटुविरुद्धको खेलमा पराजय बेहोरेको थियो भने इटाली र रुवाण्डालाई भने पराजित गरेको थियो। अर्कोतर्फ, आयोजक रुवाण्डाले खेलेका ६ खेलमध्ये ४ मा जित र २ खेलमा हार बेहोरेको छ।
प्रतियोगितामा इन्दु बर्माको कप्तानीमा नेपाली टोली प्रतिस्पर्धा गरिरहेको छ। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरी रहेका छन्। टोलीलाई मुख्य प्रशिक्षक हर्षल पाठकले प्रशिक्षण दिइरहेका छन्।
अप्रिल १८ देखि मे २ सम्म रुवाण्डामा जारी यो पहिलो आईसीसी महिला च्यालेन्ज ट्रफीमा विश्वका विभिन्न क्षेत्रका टोलीहरू सहभागी छन्। जसमा नेपाल (एसिया), अमेरिका (अमेरिका क्षेत्र), इटाली (युरोप), भानुआटु (पूर्वी एसिया-प्रशान्त) र रुवाण्डा (अफ्रिका) रहेका छन्।
प्रकाशित समय : १०:४१ बजे



















