nmb bank

गृहपृष्ठ चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

चितवन । जिल्लाका छ पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको छ । भरतपुर महानगरपालिकाबाहेक पाँचवटा नगरपालिका र एउटा गाउँपालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको हो ।

नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीमा रहेको करदाता सेवा केन्द्र हटेसँगै त्यहाँबाट प्रदान गर्ने सेवा स्थानीय तहहरुमा प्रदान गर्ने निर्णय भएपछि पालिकाहरुबाट सेवा सुरु गरिएको हो । आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख पुण्यविक्रम खड्काका अनुसार रत्ननगर, कालिका र राप्ती नगरपालिकामा गएको माघबाट सेवा सुरु गरिएको थियो । त्यसको केही समयपछि खैरहनीबाट सेवा सुरु गरिएको हो । गएको चैत १९ गते माडीबाट सेवा सुरु गरिएकोमा आजदेखि इच्छाकामनामा सेवा सुरु गरिने उनले बताए।

यसैबीच, आन्तरिक राजस्व विभागका सूचना प्रविधि निर्देशक पदमबहादुर भण्डारीले छवटै पालिकाका अधिकृत र सहायकस्तरका दुईदुई जना कर्मचारीलाई सोमबार एक दिने प्रशिक्षण दिनुभएको छ । सो क्रममा प्रविधिसँग सम्बन्धित र अन्य विषयहरुका बारेमा उनीहरुलाई जानकारी गराइएको थियो । पालिकाहरुले व्यक्तिगत प्यान, व्यावसायिक प्यान दिन सक्ने छन् । करदाताको आयकरतर्फको कारोबार बन्द गर्न, करदाता विवरण संसोधन गर्न, मूल्य अभिवृद्धि कर दर्ताका लागि सिफारिस गर्न, कर चुक्ताका लागि सिफारिस गर्न र आन्तरिक राजस्व कार्यालयको समन्वयमा करदाता शिक्षा दिनसमेत सक्ने छन् । ती विषयमा पनि छलफल भएको खड्काले जानकारी दिए ।

ती पालिकाका करदाताको अनुगमन, अनुसन्धान र कर परीक्षणलगायतका काम भने आन्तरिक राजस्व कार्यालयबाटै हुने छ । कार्यालय भरतपुरमा रहेकाले भरतपुर महानगरपालिकामा भने केन्द्र सञ्चालनमा ल्याइएको छैन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा ७४ हजार करदाता रहेका छन् । यस कार्यालयले यस आर्थिक वर्षमा २९ अर्ब ८१ करोड ७७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । हालसम्म १८ अर्ब पाँच करोड ५० लाख राजस्व सङ्कलन भएको छ ।

प्रकाशित समय : ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु