गृहपृष्ठ वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूल नहर
वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूल नहर
बाँके । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् ।
प्यास मेटाउन पुग्ने वन्यजन्तु नहरमै फसेर मर्ने गरेका हुन् । सिक्टा सिँचाइको पश्चिमी मूल नहरको अधिकांश भाग बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वन क्षेत्रमा पर्ने भएकाले जोखिम बढ्दो छ ।
गर्मीयाम सुरु भएसँगै हरेक दिनजसो पानी पिउन नहरमा पुग्ने वन्यजन्तु नहरमा मर्ने गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी टङ्क गुरुङले बताए । उनका अनुसार पछिल्लोपटक शनिबारमात्र एकैदिन हरलाफाँटा सामुदायिक वन क्षेत्रको नहरमा चार वटा चित्तल फसेका थिए । स्थानीय वनका पदाधिकारी, स्थानीय, वन कर्मचारी तथा निकुञ्ज कर्मचारीको संयुक्त प्रयासमा उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित वन क्षेत्रमा छाडिएको छ ।
यसअघि राप्तीसोनारी गाउँपालिका–२ खोरियास्थित नहरमा शुक्रबार पानीमा फसेको मृगलाई मारेर मासु भागवण्डा गरेर घरतिर जाँदै गर्दा स्थानीय तीन जना पक्राउ परेका छन् । मासु बोकेर घर जाँदै गर्दा उनीहरूलाई वन क्षेत्रमै बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वनका कर्मचारी र स्थानीयले पक्राउ गरेका थिए ।
डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार वन्यजन्तु पानी पिउनका लागि नहरमा जाने गर्दछन् । पछिल्लो समयमा त डढेलोका कारण पनि धेरै वन्यजन्तु नहरमा फस्ने गरेका छन् । अहिले बाँके राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय, सामुदायिक तथा अन्य वनहरूमा डढेलो भइरहेका कारण पनि चित्तल, मृग, नीलगाई, बँदेलगायतका वन्यजन्तु भाग्दै जाँदा नहरमा फस्ने घटनामा वृद्धि भएको उनको भनाइ छ ।
“सिक्टा सिँचाइको पश्चिमी मूल नहरको अधिकांश स्थानमा वन क्षेत्र छ, यहाँ विभिन्न किसिमका वन्यजन्तु छन् । बाँके राष्ट्रिय निकुञ्जको वन क्षेत्र पनि यहाँ पर्दछ”, वरिष्ठ वन अधिकृत सुवेदी भन्छन्, “नहर वन्यजन्तुमैत्री छैन, हालसम्म सयौँ वन्यजन्तु नहरमा फसेका छन्, कतिपय घटना जानकारी हुँदा उद्धार गरिएका छन् भने कैयौँ पटक लुकीछिपी चोरी सिकारी पनि हुने गरेका छन् ।”
वन्यजन्तुलाई पानी पिउनका लागि वनजङ्गल क्षेत्रमा पोखरी बनाइएको भए पनि पर्याप्त मात्रामा पानी छैन । त्रिशक्ति र भगवती सामुदायिक वनमा पानीसहितका पोखरी रहेका छन् तर ती पर्याप्त छैनन् । सिक्टा सिँचाइले नहरमा वन्यजन्तुलाई पानी पिउनका लागि केही स्थानमा घाट बनाए पनि ती घाट सुरक्षित र भरपर्दा नरहेको राप्तीसोनारी गाउँपालिका–२ का अगुवा मदन वली बताउँछन् । गुणस्तरीय घाट निर्माण गरेर घाटबाहेक नहरको दुवैतर्फ तारजाली निर्माण गर्न यो समस्या दीर्घकालीन रूपमा समाधान हुने उनको भनाइ छ ।
प्रकाशित समय : ०५:४५ बजे


















