गृहपृष्ठ वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
काभ्रेपलान्चोक। शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुल्न सकेको छैन । डिभिजन सडक कार्यालय भक्तपुरलगायतले आज बाटो खुलाउने प्रयास गर्दागर्दै पुनः परेको वर्षाले थप अवरुद्ध बनाएको हो ।
आइतबार बेलुकासम्म राजमार्ग खुलाउने प्रयास गरिरहँदा अपराह्न वर्षा भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै अस्थायी डाइभर्सनको काम रोकिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार वर्षा नभएमा सोमबार बिहानदेखि पुनः सडक आवागमन गराउन डाइभर्सनको कामलाई निरन्तरता दिइनेछ । आइतबार आठ स्थानबाट डाइभर्सन बनाई आवागमन गराउन खोजिए पनि चारसयबेँसी भन्ने स्थानमा डाइभर्सन बनाउने क्रममा वर्षा भएपछि थप काम रोकिएको उनले बताए ।
शनिबार दिउँसो वर्षा सुरु भएलगत्तै जोखिमलाई मध्यनजर गर्दै जिल्लास्थित सुरक्षा निकायले उक्त राजमार्गमा ३ः३० बजेदेखि आवागमन बन्द गराएको थियो । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्धस्थित कटुन्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भनेर बन्द गराएको जनाएको छ ।
रोशी खोलामा आएको बाढीले कटुन्जे–मङ्गलटार सडकका विभिन्न स्थानमा करिब चार किलोमिटर डाइभर्सनमा क्षति पुर्याएको छ । शनिबारको वर्षाले रोशी क्षेत्रको चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुङ्गा, डालाबेँसी, बुलढुङ्गा तथा माम्तीमा गरी आठ स्थानमा क्षति पुर्याएको थियो । गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानका चार किमी सडक बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो । गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो ।
राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेश मार्ग धुलिखेल तथा काभ्रेभन्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको थियो । सडक अवरुद्ध भएपछि अलपत्र छ सयभन्दा बढी यात्रुलाई आइतबार झोलुङ्गेपुलबाट तेमाल गाउँपालिका हुँदै नमोबुद्ध नगरको भकुण्डेसम्म उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । यस्तै स्थानीयको सहयोगमा प्रहरीले भकुण्डेमा यात्रुलाई फलफूल, पानी तथा अन्य पेयपदार्थ वितरण गरेको थियो ।
गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको छ ।
प्रकाशित समय : ०५:०० बजे


















