गृहपृष्ठ हिमालयन बैंक फोनेपे नेटवर्कमा आवद्ध
हिमालयन बैंक फोनेपे नेटवर्कमा आवद्ध
काठमाडौं । हिमालयन बैंक अब फोनेपे नेटवर्कमा आवद्ध भएको छ । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले हिमालयन बैंकलाई औपचारिक रूपमा फोनेपे नेटवर्कमा आबद्ध गरेको हो ।
यो साझेदारी नेपालको डिजिटल भुक्तानी प्रणालीका लागि एक महत्वपूर्ण उपलब्धि भएको र यसले देशको सबैभन्दा विस्तृत भुक्तानी पूर्वाधारलाई निजी वाणिज्य बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अग्रणी संस्थासँग जोडेको कम्पनीको भनाइ छ ।
सन् १९९३ मा स्थापित हिमालयन बैंक नेपालको प्रतिष्ठित निजी क्षेत्रीय बैंकका रूपमा परिचित रहँदै आएको छ । देशभर फैलिएको शाखा सञ्जाल र तीन दशकभन्दा बढी समयदेखि निर्माण भएको बलियो ग्राहक आधारका साथ, हिमालयन बैंकको फोनेपे नेटवर्कमा एकीकरणले ठूलो स्तरमा डिजिटल भुक्तानीको प्रयोगलाई तीव्र बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
हाल यो साझेदारी प्राविधिक एकीकरणको चरणमा रहेको फोनपेले जनाएको छ । एकीकरण प्रक्रिया सफलतापूर्वक सम्पन्न भएपछि हिमालयन बैंकका ग्राहकहरूले फोनेपे नेटवर्कभर सहज रूपमा कारोबार गर्न सक्नेछन् ।
यो आबद्धताले नेपालमा समावेशी, अन्तरसञ्चालनयोग्य, र राष्ट्रिय रूपमा एकीकृत डिजिटल भुक्तानी प्रणाली निर्माण गर्ने फोनेपेको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको कम्पनीको भनाइ छ ।
प्रकाशित समय : ११:३७ बजे



















