गृहपृष्ठ पत्रकार डेलचन्द्र शर्माको ‘माटो र म’ कृति सार्वजनिक
पत्रकार डेलचन्द्र शर्माको ‘माटो र म’ कृति सार्वजनिक
काठमाडौं । लामो समय अमेरिकामा बसेका पत्रकार डेलचन्द्र शर्माको पहिलो कृतिका रूपमा ‘माटो र म’ सार्वजनिक भएको छ ।
साहित्यिक पत्रकार सङ्घ र मिलाप म्यागेजिनले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कविता र निवन्ध मिश्रित विधामा रहेको शर्माको कृति सार्वजनिक गरिएको हो । दुईतिहाइ निवन्ध र एकतिहाइ कविता रहेको पुस्तक १२० पृष्ठको छ । सबै पृष्ठ रङ्गीन रहेको पुस्तक हेर्दै आकर्षक र पढुँपढुँ लाग्ने स्वरुपमा सजाइएको छ ।
पुस्तक विमोचन समारोहमा वरिष्ठ पत्रकार प्रा पुरुषोत्तम दाहालले विभिन्न कारणले विदेश पुगेका धेरै नेपालीले आफ्नो अधिकांश समय नेपाल र नेपालीलाई गाली गरेर बिताउने गरेकामा ‘माटो र म’ कृतिका लेखकलाई भने आफूले फरक पाएको बताए। लेखक शर्मा नेपाल रहँदा पत्रकारिता पेसामा संलग्न रहेको जानकारी दिँदै उनले पुस्तक प्रकाशन गरेर लेखकले रचनात्मक काम गर्नुभएको बताए । पछिल्लो पुस्ताले राम्रो साहित्य लेखिरहेकाले त्यसको अध्ययन गर्नुपर्ने उनको भनाइ थियो ।
पुस्तकका विषयमा समीक्षात्मक मन्तव्य व्यक्त गर्नुहुँदै प्रा सरु पोखरेलले पुस्तकको अध्ययनबाट लेखकभित्र रहेको रचनात्मक र सृजनात्मक क्षमताको जानकारी पाइने बताए । पत्रकार चन्द्रमणि गौतमले नेपाली गद्य र पद्य साहित्यमा ‘माटो र म’ कृति सम्पदाका रूपमा स्थापित भएको बताए । लेखकले कृतिमा आममानिसको मर्म बोल्न सफल हुनुभएको बताए ।
लेखक शर्माले चम्पु साहित्यका रूपमा आफूले पुस्तक बजारमा ल्याएको जानकारी दिए। नेपाल र अमेरिकाको बसाइका क्रममा पनि आफूले दुवै देशको पत्रकारिताको अवस्था उस्तै पाएको उनले बताए। विगतमा शर्मासँगै पत्रकारिता गरी हाल व्यवसाय गरिरहनुभएका विष्णु न्यौपानेले विदेशमा बस्ने नेपाली पढ्नैपर्ने पुस्तकका रूपमा ‘माटो र म’ सार्वजनिक भएको विचार राखे ।
कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, मिलाप म्यागेजिनका प्रधानसम्पादक कृष्ण भुसाल र गीता कृतिले नेपाली साहित्यमा पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए ।
प्रकाशित समय : २०:०२ बजे



















