गृहपृष्ठ लुम्बिनी प्रदेशसभा बैठकः प्रदेश जीवनाशक विषादी व्यवस्थापन कानून निर्माण
लुम्बिनी प्रदेशसभा बैठकः प्रदेश जीवनाशक विषादी व्यवस्थापन कानून निर्माण
लुम्बिनी । लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन तथा नियमनको कानुनी व्यवस्था भएको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेपछि त्यस्तो कानुनी बाटो निर्माण भएका हो ।
प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १५ औँ बैठकले उक्त विधेयक प्रतिवेदन सहितको सर्वसम्मत पारित गरेको हो । बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले विधेयकमाथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत पारित भएको घोषणा गरे । आजको बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पन्थी र आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेशसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।
बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन सभामा पेस गरिन । त्यस्तै, सार्वजनिक लेखा समितिका सभापति माया पुनले समितिको वार्षिक प्रतिवेदन पेस गरेकी थिइन ।
बैठकमा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जनता महँगीका कारण जनता मारमा परेको बताए । प्रदेशसभा सदस्य यमबहादुर सार्कीले लामो प्रयासपछि दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तयार भएको उल्लेख गर्दै यसलाई ऐतिहासिक उपलब्धि भएको बताए । प्रदेशसभा सदस्य सुशीला वादीले उक्त विधेयक प्रमाणीकरणपछि प्रभावकारी कार्यान्वयनका लागि सरकारले भूमिका बढाउनुपर्ने धारणा राखे ।
प्रदेशसभा सदस्य खड्ग बस्नेतले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे । अर्का प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले बजेट तर्जुमा र कार्यान्वयनमा समस्या रहेको औँल्याए ।
प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले सीमा क्षेत्रमा राजस्व कडाइ गर्ने सङ्घीय सरकारको नीति अवैज्ञानिक रहेको टिप्पणी गरे । प्रदेशसभा सदस्य मिनाकुमारी श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबै क्षेत्र प्रभावित भएको भन्दै तत्काल फिर्ता लिन माग गरिन । यस्तै बैठकमा प्रदेशसभा सदस्य यमुना रोका तामाङले अदूरदर्शी नीतिका कारण जनजीवन प्रभावित भएको बताउँदै भान्सा, खेतीपाती र दैनिक जीवनमा समस्या बढेको उल्लेख गरिन।
प्रदेशसभा सदस्य जमुना ढकालले किशोरीहरूको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको भन्दै राज्यले सुरक्षा प्रत्याभूति दिनुपर्ने माग गरिन । छोरीहरूले न्याय कहिले पाउने भन्ने प्रश्नसमेत उनले उठाइन ।
प्रकाशित समय : १७:५९ बजे



















