nmb bank

गृहपृष्ठ तनहुँ जिल्ला प्रशासनका केही सेवा एकीकृत सेवा कार्यालयको भवनबाट

तनहुँ जिल्ला प्रशासनका केही सेवा एकीकृत सेवा कार्यालयको भवनबाट

तनहुँ जिल्ला प्रशासनका केही सेवा एकीकृत सेवा कार्यालयको भवनबाट

दमौली । जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि आफ्ना केही सेवा साविक एकीकृत सेवा कार्यालयको भवनबाट प्रवाह गर्न सुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले प्रशासन शाखाअन्तर्गतका विभिन्न सिफारिस तथा प्रशासनिक कार्य, भण्डारण शाखा, लेखा शाखाका साथै सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षबाट प्रदान गरिने सेवाहरू एकीकृत सेवा कार्यालयको भवनबाट सञ्चालन हुने जानकारी दिए ।

यसअघि व्यास नगरपालिकाको स्वामित्वमा रहेको दमौली हल भवनबाट सञ्चालन हुँदै आएका सेवाहरू पनि सोमबारदेखि सोही नयाँ कार्यालयमा स्थानान्तरण गरिएको रेग्मीले बताए । कठिन परिस्थितिमा जिल्ला प्रशासनका सेवा सञ्चालन गर्न सहयोग पुर्‍याएकामा व्यास नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्दै कार्यालयले एकीकृत सेवा कार्यालयको भवन प्रयोग गर्न दिने निर्णय गरेकामा गण्डकी प्रदेश सरकारप्रति विशेष आभार प्रकट गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ स्थानबाट सेवा प्रवाह सुरु गरिएको जानकारी दिए । गण्डकी प्रदेश सरकारले साविकको सामाजिक विकास कार्यालय र घरेलु, पर्यटन तथा उद्योग कार्यालयलाई एकीकरण गरी एकीकृत सेवा कार्यालय सञ्चालनमा ल्याइएको हो ।

यसअघि दुई फरक भवनबाट सेवा दिँदै आएको एकीकृत कार्यालयलाई हाल पुरानो घरेलु तथा साना उद्योग कार्यालयको भवनमा सारिएको छ । एकीकृत कार्यालय एकै ठाउँमा सीमित गराएर खाली बनाई सामाजिक विकास कार्यालयको भवनलाई प्रशासनले प्रयोगमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले उल्लेख गरे । उनका अनुसार प्रशासन कार्यालयले क्षति पुगेको पुरानै प्रशासनिक भवनबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरू प्रदान गरिरहेको छ ।

गत भदौमा भएको जेनजी आन्दोलनबाट क्षति भएको भवनलाई मर्मत गरी केही समय सेवा प्रवाह गरिए पनि कार्यकक्षको अभाव थियो । अब अन्य प्रशासनिक तथा शान्ति सुरक्षासम्बन्धी सेवाहरू सामाजिक विकास कार्यालयमा स्थापना गरिएको नयाँ शाखाबाट प्रदान गरिने उनले जानकारी दिए ।

प्रकाशित समय : ०५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु