गृहपृष्ठ डिएफओ हेमन्त साहको विवादित अभिव्यक्ति सार्वजनिक, छानबिनको माग चर्कियो
डिएफओ हेमन्त साहको विवादित अभिव्यक्ति सार्वजनिक, छानबिनको माग चर्कियो
रौतहट । रौतहट जिल्लाका डिभिजन वन प्रमुख हेमन्त साहले दिएको अभिव्यक्ति सार्वजनिक भएपछि वन प्रशासनभित्र नयाँ विवाद सिर्जना भएको छ।
एक कार्यक्रमका बीच रौतहट स्थित खोरकटी सामुदायिक वनका पदाधिकारीहरूसँग बोल्दै साहले आफूले उनीहरूलाई कारबाहीबाट जोगाएको भन्दै विवादित अभिव्यक्ति दिएका हुन्। कार्यक्रममा उनले “तपाईंहरू जेलमा हुनुपर्थ्यो, मेरो कारणले मात्रै जोगिनुभयो” भन्ने भनाइ राखेका थिए।
उनको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा स्थानीय तहमा व्यापक चर्चा सुरु भएको छ। सरकारी निकायको जिम्मेवार पदमा बसेका अधिकारीबाट यस्तो टिप्पणी आउनु गम्भीर विषय भएको भन्दै विभिन्न सरोकारवालाहरूले छानबिनको माग गरेका छन्।
स्थानीय स्रोतका अनुसार वन सम्बन्धी विषयमा अनुसन्धान तथा कारबाही प्रक्रिया प्रभावित भएको संकेत मिल्ने खालको अभिव्यक्ति दिएको भन्दै डिएफओ साह माथि अख्तियारीको दुरुपयोग भएको आशंका गरिएको छ। यदि कुनै व्यक्तिलाई कानुनी कारबाहीबाट जोगाइएको हो भने त्यसले प्रशासनिक निष्पक्षता र कानुनी शासनमाथि प्रश्न समेत उठेको छ।
घटनापछि डिभिजन वन कार्यालयको कार्यशैली तथा निर्णय प्रक्रियाबारे समेत बहस सुरु भएको छ। सार्वजनिक पदमा रहेका एक जिम्मेवार कर्मचारीले दिएको अभिव्यक्तिले राज्य संयन्त्रको विश्वसनीयतामाथि असर पार्ने भन्दै सम्बन्धित निकायले तथ्यगत छानबिन गर्नुपर्ने माग उठिरहेको छ।
यस विषयमा डिभिजन वन प्रमुख साह स्वयंकै भनाईलाई नै आधार लिदा उनले उक्त सामुदायिक बनका पदाधिकारीहरुलाई जोगाउदा उनिहरुबाट अनुचित लाभ लिएको हुन सक्ने आधारहरु समेत स्पष्ट रहेको बुझिएको छ । अब राज्यका सम्बन्धित निकायले यस घटनालाई कसरी लिन्छन् र सुशासनको सवालमा शुन्य सहनशीलताको निती लिएर अघि बढीरहेको बालेन शाह नेतृत्वको सरकारले रौतहटका डिएफओ साहलाई पुरस्कृत गर्ला कि कुन प्रकारको कारबाही अघि बढाउँछन् भन्ने विषय सर्वाधिक चासोको बिषय समेत बनेको छ। डिएफओ साहको भनाईलाई लिएर बन संरक्षणको सम्बन्धमा काम गर्दै आएकाहरुले प्रश्न समेत गरिरहेका छन् ।
प्रकाशित समय : १४:२६ बजे



















