गृहपृष्ठ ट्राफिक प्रहरीले गर्याे सुन्धाराका सार्वजनिक सवारी साधनकाे अनुगमन
ट्राफिक प्रहरीले गर्याे सुन्धाराका सार्वजनिक सवारी साधनकाे अनुगमन
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालसहित अनुगमन समितिका पदाधिकारीले सुन्धारामा २३ वटा भाडाका सार्वजनिक सवारीहरूलाई अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमिकमजोरीहरूलाई सच्याउनको लागि चालकलाई प्रतिबद्धता पत्र समेत प्रदान गरिएको छ ।
सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउन सवारी चालकको महत्वपूर्ण भूमिका रहने भएकोले चालकहरुले पालना गर्नेपर्ने ट्राफिक नियम तथा यात्रुहरुप्रति सेवाभावका साथ आफूलाई बदल्नसमेत यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
सवारी दुर्घटना न्यूनीकरण र सहज ट्राफिक व्यवस्थापनका लागि चालकहरु व्यवसायिक, अनुशासित र दक्षताका साथ आफूलाई उदाहरणीय बनाउँदै चालकप्रतिको विश्वासमा वृद्धि गर्नसमेत चालकहरुलाई अनुरोध गरिएको छ ।
महाशाखाका प्रमुख ढकालद्वारा यहि पौष १७ गते भाडाका सार्वजनिक सवारी साधनहरुमा अनुगमन क्रममा देखिएका समस्या तथा महाशाखामा नागरिकहरुले गरेका गुनासोहरुको समेत विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरु, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा संचालित यात्रुवाहक सार्वजनिक सवारी साधनसँग सम्बन्धित विभिन्न कम्पनी प्रालिका प्रतिनिधिहरुको उपस्थितिमा पौष २० गते यस महाशाखामा छलफल गरिएको थियो ।

उक्त छलफलबाट १९ वुँदे प्रतिवद्धता निर्णय भएको र उक्त निर्णयहरु कार्यान्वयन गर्न आजबाट अनुगमन सुरु गरिएको हो ।
उक्त १९ बुँदे कार्यान्वयन भए/नभएको अनुगमनको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक तथा अनुगमन समितिका संयोजक प्रहरी उपरीक्षक राजकुमार बैदवार, नेपाल यातायात व्यवसायी महासंघलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रकाशित समय : २१:३२ बजे



















