गृहपृष्ठ उपसभामुख तुम्बाहाम्फेको राजीनामा माग्ने नेकपा सचिवालयको निर्णय
उपसभामुख तुम्बाहाम्फेको राजीनामा माग्ने नेकपा सचिवालयको निर्णय
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको राजीनामा माग्ने निर्णय गरेको छ । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उपसभामुखको राजीनामापछि मात्र सभामुख उम्मेदवारको टुंगो लगाउने भएको निर्णय गरेको हो ।
रिक्त सभामुखको पदमा नेकपाले उम्मेदवारी दिने र त्यसका लागि उपसभामुखको राजीनामा माग्ने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पुष्टि गरे । ‘राजीनामापछि मात्रै सभामुख पदमा उठाइने उम्मेदवार को टुंगो लाग्नेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘सभामुख उम्मेदवारको नामबारे आजको बैठकमा कुनै छलफल भएन ।’
शुक्रबार अध्यक्षद्वयसँग भएको भेटमा उपसभामुख तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउने निर्णय गरेमात्र उपसभामुखबाट राजीनामा दिने, नभए सदन सुचारु गरेर सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्ने अडान लिएकी थिइन् । सचिवालय बैठकमा नेताहरुले उपसभामुखको अडान उपयुक्त नभएको धारणा राखेका थिए ।
संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक-फरक दलको तथा दुईमध्ये एक पदमा महिला हुनुपर्छ । बलात्कारको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि सो पद रिक्त छ ।
प्रकाशित समय : ००:०८ बजे



















