गृहपृष्ठ आमसञ्चार विधेयक सर्वसम्मतिले पारित
आमसञ्चार विधेयक सर्वसम्मतिले पारित
विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सो विधेयक पारित गरियोस् भनी गरेको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।
यस अघि न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले ‘कोशी प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गरेका थिए ।
समितिको प्रतिवेदनसहितको विधेयकमाथि प्रदेशसभा नियमावली २०७४ को नियम १०७ को उपनियम(२)को खण्ड (क) बमोजिम छलफल गरियोस् भनी मन्त्री पराजुलीले गरेको प्रस्तावमा कुनै पनि सांसदले छलफलमा सहभागिता जनाएनन् ।
विशेष समय
विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट रेवतीरमण भण्डारीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने बजेटको मिहीन ढङ्गले छलफल गर्नुपर्ने धारणा राखे ।
उनले कोशी प्रदेशमा ३६ वटा हिमताल जोखिमयुक्त रहेकाले यसका निम्ति सरकारले योजनाबद्धरुपमा पूर्वतयारी गर्नुपर्ने बताए । नदी तटीय क्षेत्रमा बसोबास गर्ने मानिसको जीवन प्रभावित हुन नदिन सरकार गम्भीर बन्नुपर्ने सुझाव उनले दिए । उनले सरकारले सञ्चालन गरेको योजनाहरु अधुरा हुन दिनतर्फ सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट गोपाल तामाङले राष्ट्रिय आवास कम्पनीको नाममा पूर्वीनेपालको काँकरभिट्टामा रहेका बस्ती विकास कम्पनीले मनोमानी गरिरहेकाले खारेजको माग गरे ।
प्रकाशित समय : १९:२४ बजे




















