nmb bank

गृहपृष्ठ रोवा गाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना, स्थानीयलाई गाउँमै सेवा (भिडियो सहित)

रोवा गाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना, स्थानीयलाई गाउँमै सेवा (भिडियो सहित)

रोवा गाउँमा अस्थायी प्रहरी पोस्ट स्थापना, स्थानीयलाई गाउँमै सेवा (भिडियो सहित)

मुगु । छायानाथ रारा नगरपालिका–स्थित रोवा गाउँमा अस्थायी प्रहरी पोस्ट औपचारिक रूपमा स्थापना गरिएको छ । आइतबार जिल्ला सुरक्षा समिति, स्थानीय तह तथा सरोकारवालाहरूको उपस्थितिमा वडा नम्बर ११ मा उक्त पोस्ट सञ्चालनमा ल्याइएको हो ।

साबिक रावा गाविसअन्तर्गत पर्ने हालका वडा नं. १०, ११ र १२ का एक दर्जनभन्दा बढी बस्तीका १० हजारभन्दा बढी नागरिकको शान्ति सुरक्षा, धनजनको रक्षा तथा आपराधिक गतिविधि नियन्त्रणलाई मध्यनजर गर्दै पोस्ट स्थापना गरिएको हो । लामो समयदेखि स्थानीय बासिन्दाले प्रहरी सेवा लिन सदरमुकामसम्म २–३ घण्टा हिँड्नुपर्ने बाध्यता थियो ।

नगरप्रमुख विष्णु कुमार भाम का अनुसार २०८९ सालदेखि नै उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न पहल भइरहेको थियो । पालिका, वडा तथा जिल्ला सुरक्षा समितिले पटक–पटक गृह मन्त्रालय सम्म पहल गर्दै आएको र समाजसेवी अनिल बानियाँको सक्रियतामा अन्ततः अस्थायी पोस्ट स्थापना सम्भव भएको उनले बताए । नगरपालिकाले हालका लागि २ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

उक्त पोस्टमा ५ जना प्रहरी खटिनेछन् । स्थानीयस्तरमै साना–तिना विवाद, उजुरी तथा सेवा प्रदान गरिनेछ भने ठूला घटनाहरू मात्र जिल्ला सदरमुकाम पठाइने व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रबिराज थपलिया ले पोस्टमा खटिएका प्रहरीलाई कानुनअनुसार नागरिकको सुरक्षामा सक्रिय रहन निर्देशन दिइएको बताए । उनले स्थानीयलाई कुनै पनि घटना घटेमा प्रहरीलाई सहयोग गर्न आग्रह समेत गरे ।

प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री का अनुसार देशभरबाट अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि करिब २ हजार ७ सय निवेदन परेकोमा मुगुको रोवाले अनुमति पाउनु महत्वपूर्ण उपलब्धि हो । उनले स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गरिने बताए ।

स्थानीयवासीका अनुसार गाउँमै प्रहरी सेवा उपलब्ध भएपछि न्यायमा पहुँच सहज हुने र अपराधका घटनामा कमी आउने अपेक्षा गरिएको छ । वडा अध्यक्ष कुन्जुमा कुमाईंले पनि स्थानीय तहबाट आवश्यक सहयोग जारी रहने बताएकी छन् ।

प्रकाशित समय : ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु