nmb bank

गृहपृष्ठ म्यान्मामा सैनिक शासनको निरन्तरता

म्यान्मामा सैनिक शासनको निरन्तरता

म्यान्मामा सैनिक शासनको निरन्तरता

म्यान्मामा पाँच वर्षअघि बल प्रयोगमार्फत सत्ता कब्जा गरेको सैन्य नेतृत्वले अब नागरिक आवरणमा शासनलाई निरन्तरता दिन खोजेको सङ्केत देखिएको छ । शुक्रबार संसद्द्वारा जुन्ता प्रमुख मिन आङ ह्लाइङलाई राष्ट्रपतिमा निर्वाचित गरिनु त्यसैको पछिल्लो कदमका रूपमा हेरिएको छ ।

एएफपीका पत्रकारहरूले सङ्कलन गरेको मतगणनाको तथ्याङ्कअनुसार उनले सांसदहरूबाट प्राप्त ५८४ मतमध्ये कम्तीमा २९३ मत हासिल गर्दै स्पष्ट बहुमत पार गरेका हुन । उक्त मतदानमा सैन्य पक्षधर सांसदहरूको प्रभाव प्रमुख रूपमा देखिएको थियो ।

मिन आङ ह्लाइङले सन् २०२१ मा प्रजातान्त्रिक प्रणालीलाई अन्त्य गर्दै निर्वाचित नेतृ आङ सान सुकीलाई हिरासतमा लिनुका साथै उनको पार्टी विघटन गरेका थिए । त्यसयता उनकै नेतृत्वमा रहेको सैन्य प्रशासनले देश सञ्चालन गर्दै आएको छ ।

जुन्ताले गत महिना संसद् पुनःस्थापना गर्नु जनतामा सत्ता फिर्ताको सङ्केत भएको दाबी गरे पनि विश्लेषकहरूले यसलाई सैन्य शासनलाई वैधता दिन खोजिएको बाह्य आवरणका रूपमा व्याख्या गरेका छन् ।

यसैबीच, जनवरीको अन्त्यमा सम्पन्न निर्वाचनमा सेना समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीले ८० प्रतिशतभन्दा बढी संसदीय सिट जितेको थियो । साथै, संविधानअनुसार सशस्त्र सेनाका सेवारत सदस्यहरूले कुल सिटको एक चौथाइ हिस्सा स्वतः ओगटेका छन् ।

चुनावको विरोध वा आलोचना गर्न नपाइने व्यवस्था गरिएको थियो भने विद्रोहीहरूको नियन्त्रणमा रहेका क्षेत्रमा मतदान हुन सकेन । यस्ता क्षेत्रहरूमा सैन्य शासनविरुद्ध सशस्त्र सङ्घर्ष जारी रहेको छ ।

फेब्रुअरी २०२१ को सैनिक विद्रोहयता जारी द्वन्द्वले सबै पक्षका दशौँ हजार मानिसको ज्यान लिइसकेको छ, जसले देशलाई दीर्घकालीन अस्थिरता र मानवीय सङ्कटतर्फ धकेलेको छ ।

प्रकाशित समय : १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु