global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ खोला किनारमा फुलेका फूलले बढायो काठमाडौंको सौन्दर्य

खोला किनारमा फुलेका फूलले बढायो काठमाडौंको सौन्दर्य

खोला किनारमा फुलेका फूलले बढायो काठमाडौंको सौन्दर्य

काठमाडौं । वसन्त ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाका विभिन्न खोला किनार अहिले फूलैफूलले ढकमक्क ढाकिएका छन् ।

विशेषगरी काठमाडौं महानगरपालिकाको रातोपुलस्थित धोबिखोला किनारमा फुलेका रङ्गीचङ्गी फूलले त्यहाँको वातावरणलाई मनमोहक बनाउँदै स्थानीय तथा आगन्तुकको ध्यान खिचिरहेका छन् ।

केही वर्ष अघिसम्म दुर्गन्ध र फोहोरले परिचित धोबिखोला अहिले सफाइ र हरियालीका कारण नयाँ रूपमै देखिन थालेको छ । वसन्त ऋतुको आगमनसँगै यहाँ रोपिएका विभिन्न प्रजातिका फूल फुलेपछि खोला किनार रमणीय बगैँचाजस्तै देखिन थालेको छ । रातो, सेतो, पहेंलो, रानी र अन्य विविध रङ्गका फूलले यश क्षेत्रलाई थप आकर्षक बनाएका छन् ।

स्थानीयवासी जगदीश कुइकेलका अनुसार, “धोबिखोलामा फुलेका फूलले सबैलाई आकर्षित गरिरहेका छन् । पहिले दुर्गन्ध आउने ठाउँ अहिले सुगन्धित र रमाइलो बनेको छ । यहाँ हिँड्दा नै मन शान्त हुन्छ ।” अहिले दैनिक रूपमा यहाँ घुम्न आउने, फोटो खिच्ने र समय बिताउनेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

अर्का स्थानीय कबिर श्रेष्ठले पनि विगतमा दुर्गन्धले यहाँको खोला छेउछाउमा हिड्नै गाह्रो हुने गरेको भएपनि अहिले खोलाको सरसफाइ गरिन थालिएको र फूलको सुगन्धले वातावरण नै मनमोहक बनाएको बताए ।

उनले भने, “पहिले यहाँको अवस्था निकै दयनीय थियो । फोहोरको दुर्गन्धले खोलाको छेउमा हिँड्नै गाह्रो हुन्थ्यो । अहिले भने सफा गरिन थालिएको, हरियाली र फूलहरूको वास्नाले वातावरण पूर्ण रूपमा परिवर्तन भएको छ ।”

काठमाडौँ महानगरपालिकाले खोला सफाइ अभियानलाई तीव्रता दिँदै फोहोर फाल्नेलाई कारबाही गर्ने सूचना जारी गरेपछि स्थानीयस्तरमा पनि सचेतना बढेको र यसले खोला संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको स्थानीय बताउँछन् ।

अहिले धोबिखोला मात्र होइन, काठमाडौँ उपत्यकाका अन्य खोला किनार बागमती, विस्नुमती लगायत पनि क्रमशः सफा र हरियालीयुक्त बन्दै गइरहेका छन् । साँझपख विशेषगरी यहाँ मानिसको चहलपहल उल्लेख्य रूपमा बढ्ने गरेको छ । धोबिखोला किनारमा किराना पसल सञ्चालन गर्दै आएका व्यवसायी जनक लामाका अनुसार साँझको समयमा यहाँ मानिसहरू बस्न, घुम्न र फोटो खिच्न आउँछन् ।

यसले यहाँको व्यापारमा सकारात्मक प्रभाव पारेको छ । वातावरण संरक्षण, शहरी सौन्दर्य अभिवृद्धि तथा जनचेतनाको संयुक्त प्रयासले काठमाडौँका खोला किनार अहिले उदाहरणीय बन्दै गइरहेका छन् । यदि यस्तै प्रयासलाई निरन्तरता दिइयो भने आगामी दिनमा उपत्यकाका सबै खोला किनार पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना देखिने स्थानीयको बुझाइ छ ।

यसरी, एक समय फोहोर र दुर्गन्धको पर्याय बनेका खोला किनार आज सुगन्धित फूलले सजिएका सुन्दरस्थलका रूपमा रूपान्तरण भइरहेका छन्, जसले काठमाडौँको समग्र सौन्दर्यमा नयाँ आयाम थपेको छ ।

प्रकाशित समय : १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु