गृहपृष्ठ अमेरिकासँग सहकार्य बढाउन चीनको पहल
अमेरिकासँग सहकार्य बढाउन चीनको पहल
विश्वका दुई ठूला अर्थतन्त्रबीच सम्बन्ध सुधार्ने सङ्केत देखिँदै जाँदा चीनले संयुक्त राज्य अमेरिकासँग आर्थिक तथा व्यापारिक सहकार्यलाई अझ सुदृढ बनाउन चाहेको स्पष्ट गरेको छ । प्रतिस्पर्धालाई सहकार्यसँग सन्तुलनमा राख्ने प्रयासस्वरूप बेइजिङले ‘द्वेषपूर्ण प्रतिस्पर्धा’ बाट टाढा रहनुपर्नेमा जोड दिएको छ ।
चीनका वाणिज्यमन्त्री वाङ वेन्टाओले अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग भएको भेटमा बहुपक्षीय र क्षेत्रीय व्यापार सहकार्यलाई विस्तार गर्न चीन इच्छुक रहेको बताए । वाणिज्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार उनले दुई देशबीचको सम्बन्धलाई प्रतिस्पर्धा र सहकार्यबीच सन्तुलित ढङ्गले अघि बढाउनुपर्ने र टकरावपूर्ण प्रतिस्पर्धाबाट बच्नुपर्ने धारणा राखे ।
दुवै पक्षबीचको यो भेट क्यामरुनको राजधानीमा आयोजित विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को मन्त्रिस्तरीय सम्मेलनको साइडलाइनमा बिहीबार भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावित बेइजिङ भ्रमणभन्दा दुई महिनाभन्दा कम समय अघि भएको यो संवादलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
गत वर्ष अक्टोबरमा युद्धविराममा सहमत हुनुअघि अमेरिका र चीनबीच चर्को व्यापार युद्ध चलेको थियो । त्यसपछि पनि सम्बन्ध पूर्ण रूपमा सहज बन्न सकेको छैन । यस महिनाको सुरुमा पेरिसमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङबीच भएको उच्चस्तरीय वार्ताले केही हदसम्म तनाव कम गर्ने सङ्केत दिएको थियो ।
यद्यपि, अमेरिकी कर नीतिहरू, चीनतर्फ झुकेको व्यापार सन्तुलन र उन्नत प्रविधिको निर्यातमा अमेरिकाले लगाएको प्रतिबन्धजस्ता विषयहरू अझै विवादका मुख्य कारण बनेका छन् । यसै सन्दर्भमा वाङ वेन्टाओले हालै सुरु गरिएको अमेरिकी व्यापार अनुसन्धानप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
उक्त अनुसन्धानले चीनसहित करिब ६० अर्थतन्त्रलाई समेट्दै ‘जबरजस्ती श्रमविरुद्ध प्रभावकारी कारबाही भए/नभएको’ तथा यसले अमेरिकी व्यापारमा नकारात्मक असर पारेको छ कि छैन भन्ने विषयमा अध्ययन गर्ने जनाइएको छ । यसले आगामी दिनमा नयाँ कर लाग्ने सम्भावनालाई पनि सङ्केत गरेको छ ।
यसबीच, ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको बेइजिङ भ्रमण मे १४–१५ का लागि तय गरिएको जनाएको छ । मध्यपूर्वमा जारी युद्धका कारण केही समय पछि सारिएको यो भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
प्रकाशित समय : १४:५९ बजे

















