nmb bank

गृहपृष्ठ एल निनोको सङ्केत, नयाँ तापक्रम जोखिम

एल निनोको सङ्केत, नयाँ तापक्रम जोखिम

एल निनोको सङ्केत, नयाँ तापक्रम जोखिम

विश्व तापक्रम लगातार उकालो लागिरहेकै बेला सन् २०२६ को दोस्रो आधामा एल निनो पुनः विकसित हुन सक्ने सम्भावनाले वैज्ञानिकहरूलाई सतर्क बनाएको छ । अमेरिकी नेसनल ओसेनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) का अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म एल निनो गठन हुने सम्भावना ५० देखि ६० प्रतिशत छ, जसले विश्वव्यापी तापक्रमलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने आकलन गरिएको छ । विश्व मौसम विज्ञान सङ्गठनले यसबारे अद्यावधिक विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

एल निनो उष्णकटिबन्धीय प्रशान्त महासागरमा देखिने प्राकृतिक जलवायु चक्र एल निनो–दक्षिणी दोलन (इएनएसओ) को तातो चरण हो । यसको विपरीत अवस्था ला निना हो भने दुवैबीच तटस्थ अवस्था पनि रहन्छ । १९औँ शताब्दीमा पेरु र इक्वेडोरका माछा मार्नेहरूले क्रिसमस नजिकिँदै गर्दा समुद्रको पानी असामान्य रूपमा तातो भएको देखेपछि त्यसलाई ‘एल निनो’ नाम दिएका थिए । स्पेनी भाषामा ‘एल निनो’ को अर्थ ‘बालक’ वा ‘बाल येशू’ हुन्छ ।

एल निनो हुँदा प्रशान्तमा पूर्वदेखि पश्चिमतिर बहने व्यापारिक हावा कमजोर भई समुद्री सतहको तापक्रम विशेषगरी मध्य र पूर्वी प्रशान्तमा बढ्छ । यसले विश्वभरि वर्षा र हावाको ढाँचा बदल्छ । अतिरिक्त समुद्री ताप वायुमण्डलमा ऊर्जा बनेर विश्व औसत तापक्रम अस्थायी रूपमा बढ्न सक्छ । एनओएएका मौसमविद् नेट जोनसनका अनुसार सामान्य एल निनोले औसत तापक्रममा करिब ०.१ देखि ०.२ डिग्री सेल्सियससम्म वृद्धि गराउन सक्छ । एल निनो सामान्यतः दुईदेखि सात वर्षको अन्तरालमा देखापर्छ ।

यसको प्रभाव क्षेत्रअनुसार फरक पर्छ । दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया, दक्षिणी अफ्रिका र उत्तरी ब्राजिलमा प्रायः सुक्खा अवस्था देखिन्छ भने हर्न अफ अफ्रिका, दक्षिणी संयुक्त राज्य अमेरिका, पेरु र इक्वेडरमा बढी वर्षा हुन्छ । पछिल्लो एल निनो २०२३–२०२४ मा भएको थियो, जसले २०२३ लाई दोस्रो सबैभन्दा तातो वर्ष र २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनाउन योगदान गरेको थियो ।

युरोपेली सङ्घ (इयु) को कोपर्निकस जलवायु परिवर्तन सेवाका निर्देशक कार्लो बुन्टेम्पोका अनुसार यस वर्ष एल निनो विकसित भए सन् २०२६ अर्को रेकर्ड तोड्ने वर्ष हुन सक्छ । आयरल्यान्डको राष्ट्रिय मौसम सेवाका वैज्ञानिक टिडो सेमलरले एल निनोको पूर्ण प्रभाव देखिन समय लाग्ने भएकाले सन् २०२७ मा तापक्रम झन् उच्च हुन सक्ने चेतावनी दिनुभयो । उनका अनुसार विश्व तापवृद्धिको दीर्घकालीन प्रवृत्तिका कारण एल निनो नहुँदा पनि सन् २०२६ तातो वर्ष बन्ने जोखिम कायमै छ ।

ला निना भने यसको चिसो चरण हो, जसले पूर्वी प्रशान्तलाई एकदेखि तीन वर्षसम्म चिसो बनाउँछ र एल निनोको उल्टो प्रभाव पार्छ । अस्ट्रेलिया, भारत, दक्षिणपूर्वी एसिया र दक्षिणपूर्वी अफ्रिकामा बढी वर्षा गराउँछ भने दक्षिण अमेरिकाका केही भागमा सुक्खा अवस्था ल्याउँछ । डिसेम्बर २०२४ मा सुरु भएको पछिल्लो ला निना छोटो र कमजोर रहँदै तटस्थ चरणमा प्रवेश गरेको थियो, तर त्यसले पनि सन् २०२५ लाई तेस्रो सबैभन्दा तातो वर्ष हुनबाट रोक्न सकेन ।

यसबीच एनओएएले एल निनो मापन गर्ने विधि परिमार्जन गरेको छ । पुरानो ओसेनिक निनो इन्डेक्स (ओएनआई) ले ३० वर्षको औसत तापक्रमसँग तुलना गथ्र्यो, तर तीव्र गतिमा तातिरहेका समुद्रका कारण त्यो आधार पुरानो हुने भएकाले नयाँ रिलेटिभ ओसेनिक निनो इन्डेक्स (रोनी) अपनाइएको छ । यो विधिले पूर्व–मध्य प्रशान्तलाई बाँकी उष्णकटिबन्धीय क्षेत्रसँग तुलना गर्दै वास्तविक समयमा अवस्था मूल्याङ्कन गर्ने अधिक स्पष्ट र भरपर्दो उपाय प्रदान गर्ने एनओएएको दाबी छ ।

प्रकाशित समय : १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु