गृहपृष्ठ दक्षिण कोरियालाई ‘पूर्णरूपमा नष्ट’ गर्न सक्ने किमको चेतावनी
दक्षिण कोरियालाई ‘पूर्णरूपमा नष्ट’ गर्न सक्ने किमको चेतावनी
उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको सुरक्षा खतरा भए आफ्नो देशले दक्षिणलाई ‘पूर्ण रूपमा नष्ट’ गर्न सक्ने चेतावनी दिएका छन् । तर, त्यससँगै उनले संयुक्त राज्य अमेरिकासँग वार्ताका लागि ढोका खुला रहेको सङ्केत पनि दिएका छन् । यसले प्योङयाङको रणनीतिमा दबाब र संवाद दुवैलाई समानान्तर अघि बढाउने सन्देश दिएको छ ।
सत्तारूढ वर्कर्स पार्टीको महत्त्वपूर्ण सम्मेलनको समापन गर्दै किमले आगामी पाँच वर्षका नीतिगत लक्ष्य सार्वजनिक गरे । उनले आफ्नो आणविक क्षमता र नयाँ हतियार प्रणाली विकासलाई तीव्र बनाउने घोषणा गर्दै पानीमुनिबाट प्रक्षेपण गर्न सकिने अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल, सामरिक आणविक हतियार र छोटो दूरीका क्षेप्यास्त्रहरूको भण्डार विस्तार गर्ने लक्ष्य प्रस्तुत गरे । उनका अनुसार पछिल्ला वर्षहरूमा भएको तीव्र हतियार विकासले उत्तर कोरियाको आणविक राष्ट्रको हैसियत ‘स्थायी रूपमा स्थापित’ गरिसकेको छ ।
यद्यपि किमले अमेरिकाले उत्तरप्रति अपनाएको ‘शत्रुतापूर्ण नीति’ त्यागेमा संवाद सम्भव रहेको बताए । “शान्तिपूर्ण सहअस्तित्व होस् वा स्थायी द्वन्द्व, हामी दुवैका लागि तयार छौँ”, उनले भने, “छनोट अमेरिकाको हातमा छ ।” उत्तर कोरियाले लामो समयदेखि अमेरिकी प्रतिबन्ध र आणविक निशस्त्रीकरणको मागलाई ‘शत्रुतापूर्ण नीति’ का रूपमा व्याख्या गर्दै आएको छ ।
विश्लेषकहरूका अनुसार किमको दक्षिणप्रति कडा भाषण प्रत्यक्ष युद्धको सङ्केतभन्दा बढी आफ्नो क्षेत्रीय प्रभाव र शक्ति दाबी गर्ने प्रयास हो । मस्को र बेइजिङसँग नजिकिँदो सम्बन्ध तथा बढ्दो आणविक शस्त्रागारको पृष्ठभूमिमा उहाँले सियोलसँगको कूटनीति लगभग अस्वीकार गरिसकेका छन् । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले भने प्योङयाङले सम्बन्धलाई निरन्तर शत्रुतापूर्ण रूपमा चित्रण गरिरहेकोप्रति खेद व्यक्त गर्दै शान्ति स्थापनाका प्रयास धैर्यपूर्वक जारी राख्ने जनाएको छ ।
प्रकाशित समय : १७:३७ बजे


















