गृहपृष्ठ साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै
कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् । पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भूटान दुवैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई भारतले १.० गोलले निराश बनाएको थियो । प्रतियोगिता उद्घाटन खेलमा भुटान भने बंगलादेशसँग १२.० को फराकिलो अन्तरले पराजित भएको थियो ।
त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुवै टोली दबाबमा हुनेछन् । फाइनल सम्भावना जीवित राख्नका लागि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण रहनेछ । बंगलादेश र भारतले भने एकरएक खेल जितेर समान तीन अकं जोडेका छन् ।
प्रतियोगितामा यसपटक चार टोलीले मात्र सहभागिता जनाएका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भएको प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् ।
प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए।
प्रकाशित समय : ०८:२६ बजे





















