गृहपृष्ठ साइबर ब्यूरो रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिन सहमति
साइबर ब्यूरो रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिन सहमति
काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँ महानगरपालिका–२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिने भएको छ । यस विषयमा गृह मन्त्रालयले आज सहमति दिएको हो ।
आज गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले कित्ता नम्बर ३५३, ३५४ र ३५५ को चार आना, दुई पैसा एक दाम भएको जग्गा र सो जग्गामा बनेको भवन कामपालाइई प्रयोग गर्न दिने गरी सहमति दिएको हो । समरजङ्ग कम्पनीका नाममा रहेको उक्त जग्गा निर्मित भवनमा वडा कार्यालय राख्न कामपाले माग गरेको थियो । सार्वजनिक र सरकारी जग्गाको संरक्षण स्थानीय सरकारले गर्ने कानुनी व्यवस्था छ । यस्ता जग्गाको उपभोग गर्न परे जुन निकाय मातहत छ उसैसँग समन्वय र सम्झौता गर्नुपर्ने व्यवस्था अनुसार गृह मन्त्रालयसँग कामपाले सहमतिका लागि माग गरेको हो ।
निर्णयका बारेमा कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अन्तरसरकार समन्वय, सहकारिता र साझेदारिताको सफल अभ्यास गरिएको प्रतिक्रिया दिए । “नागरिकको सेवा सहजताका लागि आपसी सम्बन्धबाट प्रतिफल दिन महानगरपालिका सदैव तत्पर छ,”, उनले भने ।
बैठकले, रामशाहपथमा उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा सरकारको नाममा दर्ता गर्न कामपाले सहमति प्रदान गर्ने निर्णय भएको छ । यसरी सहमति प्रदान गरिएको जमिनमध्ये कम्तीमा आठ आना जमिनमा समरजङ्ग कम्पनी कार्यालय र बाँकी जमिनमा नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपभोग गर्नेगरी प्रक्रिया अगाडि बढाइने बैठकले निर्णय गरेको हो ।
प्रकाशित समय : २२:१८ बजे





















