global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ दलहरूले निजी क्षेत्रमैत्री नीति घोषणापत्रमा समेट्नुपर्छ : चन्द्र ढकाल

दलहरूले निजी क्षेत्रमैत्री नीति घोषणापत्रमा समेट्नुपर्छ : चन्द्र ढकाल

दलहरूले निजी क्षेत्रमैत्री नीति घोषणापत्रमा समेट्नुपर्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले राजनीतिक दलहरूलाई आगामी चुनावी घोषणापत्रमा निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र मनोबल बढाउने स्पष्ट नीति समेट्न आग्रह गरेको छ ।

महासंघद्वारा शनिबार आयोजित ‘घोषणापत्रमा निजी क्षेत्र’ विषयक पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र उपेक्षित हुँदा देशको समग्र आर्थिक पुनरुत्थान चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे । कुल गार्हस्थ उत्पादनमा करिब ८१ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी सिर्जना गरिरहेको निजी क्षेत्र कमजोर हुँदा अर्थतन्त्र नै जोखिममा परेको उनको भनाइ छ ।

अध्यक्ष ढकालले भने, “निजी क्षेत्रको मनोबल ऐतिहासिक रूपमा कमजोर अवस्थामा पुगेको छ । बैंकमा तरलता हुँदाहुँदै पनि लगानी हुन नसक्नु गम्भीर संकेत हो । यही अवस्था लम्बिँदै गयो भने रोजगारी र राजस्व अझै संकुचित भई मुलुक असफलताको दिशातर्फ जान सक्छ ।”

महासंघले भदौ २३–२४ को आन्दोलनमा निजी क्षेत्रमा प्रत्यक्ष ३६ अर्ब र समग्रमा झण्डै ८० अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको उल्लेख गर्दै, असुरक्षा र अनिश्चितताले लगानीकर्तालाई निरुत्साहित गरेको ठहर गरेको छ ।

निजी क्षेत्र संरक्षण र प्रवद्र्धनको योजना अन्तर्गत उद्योग तथा व्यवसायलाई शान्ति क्षेत्र घोषणा गर्ने, औद्योगिक सुरक्षा सुनिश्चित गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा द्रुत सेवा दिनुपर्ने सुझाव महासंघले दिएको छ । व्यवसाय दर्ता र वार्षिक नवीकरण प्रक्रिया पूर्ण डिजिटल बनाउन पनि माग गरिएको छ ।

महासंघले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउन कर छुट, पूर्वाधार सुविधा र स्पष्ट मोडालिटी आवश्यक रहेको बताएको छ। पर्यटन क्षेत्रमा हिलस्टेसन, रिसोर्ट, केबलकार र विवाह–सम्मेलन पर्यटनलाई प्रवद्र्धन गर्ने योजना पनि समावेश छ ।

कर प्रणाली सरल, स्थिर र प्रतिस्पर्धी बनाउँदै आयकरमा छुट र दोहोरो कर अन्त्य गर्ने प्रस्ताव पनि महासंघले अघि सारेको छ ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु