गृहपृष्ठ कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण
सुर्खेत । बहुप्रतिक्षित कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण गरिएको छ । आयोजना निर्माण सम्पन्न भएसंगै शुक्रबार उक्त लाइन परिक्षण गरिएको हो ।
१३२ केभी प्रशारण लाइनको निर्माण सम्पन्न भएसंगै कर्णालीबासीले भोग्दै आएको विद्युत समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
सात बर्षअघि निर्माण थालिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण आयोजनाको परिक्षणसंगै कर्णालीको विद्युत् आपूर्तिमा हुने अनियमितता तथा लो भोल्टेजको समस्या समाधान हुने अपेक्षा स्थानीयको छ ।
शुक्रबार प्रशारण लाईनको परिक्षण थालिएको आयोजना प्रमूख रवी चौधरीले बताए । उनका अनुसार छिटफुट ठाउँहरुमा बाहेक कतै समस्या देखिएको छैन ।
परीक्षण सफल भए लगत्तै नियमित विद्युत प्रशारण गरिने उनले बताए । ‘शुक्रबार कोहलपुर–सुर्खेत १३२ प्रशारण लाईनको परिक्षण गरिएको छ’ उनले भने, ‘कहिँकतै विद्युत चुहावटको समस्या भएपनि अन्य सबै सफल भइरहेको छ ।’ बाँकेको कोहलपुरस्थित सबस्टेशनदेखि वीरेन्द्रनगरको सुब्बाकुनामा निर्माण गरिएको सबस्टेशनमा डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरेर परीक्षण गरिएको उनले जानकारी दिए ।
नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर नगरपालिकाको वडा नं. १० चटार, वडा नं. १३ सिम्रिक क्षेत्रसहित बैजनाथ गाउँपालिका वडा नं. ४ बाँनियाभार र वडा नं. १ गाभर क्षेत्र पर्दछन् । बर्दियाको बाँसगढी नगरपालिका वडा नं. १ बबई क्षेत्र हुँदै प्रसारण लाइन विस्तार गरिएको छ ।
सुर्खेतमा भेरीगंगा नगरपालिकाको वडा नं. ५ बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रसहित वडा नं. ४ हर्रे र ताउलेखोला, वडा नंं. १० को झिलमिले र थानीचौरलगायतका क्षेत्र पनि विद्युत प्रसारण लाइन आयोजना क्षेत्रमा छन् । त्यसबाहेक पनि भेरीगंगाकै वडा नं. १२ र वडा नं. १३ मा पर्ने सामुदायिक वन र वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ सुब्बाकुना यो आयोजनासँग जोडिएका छन् ।
परीक्षणपश्चात् आयोजना सञ्चालनमा आउने कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना २०७७ सालदेखि सुरुवात गरिएको थियो । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्टले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको थियो ।
राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रुख कटानदेखि बाँकेको बाँनियाभार र वीरेन्द्रनगरको सुब्बाकुना क्षेत्रमा जग्गा विवाद भए पछि आयोजना सञ्चालनमा ढिलाई भएको पनि पटक–पटक म्याद थप गरेर आयोजना निर्माण कार्य सकिएको छ ।
०८० चैतमा सकिएको आयोजनाको पहिलो म्याद २०८१ पुस १६ सम्म थपिएको थियो । तर त्यो अवधिमा पनि निर्माण सम्पन्न हुन नसकेपछि दोस्रो थप गरेर ०८२ माघ मसान्तसम्म पु-याइएको हो । बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसनसम्मको प्रसारण लाइनको दूरी ५२ किलोमिटर छ ।
कोहलपुर–सुर्खेतसम्म १६१ वटा टावर रहेका छन् । सुर्खेतमा २०४५ सालमा निर्माण भएका संरचनाबाट हालसम्ममा विद्युत् प्रसारण भइरहेको थियो । अहिले ३३ केभी प्रसारण लाइनको विद्युत् सुर्खेतलगायत कर्णाली प्रदेशका जिल्लाहरूमा सञ्चालनमा रहेको छ ।
प्रकाशित समय : १८:०५ बजे





















