global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कर्णाली प्रदेशद्वारा सुर्खेतमा बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न

कर्णाली प्रदेशद्वारा सुर्खेतमा बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न

कर्णाली प्रदेशद्वारा सुर्खेतमा बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतको वीरेन्द्रनगरमा दुई दिन सञ्चालन गरिएको बीमा साक्षरता सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका छन् । माघ १३ र १४ गते सञ्चालन गरिएका यी कार्यक्रमहरूमा कर्णाली प्रदेशमा कार्यारत क्रियाशील पत्रकार, जीवन बीमा अभिकर्ता तथा बीमकका कर्णाली प्रादेशिक कार्यालय तथा शाखा कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

पत्रकारहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईको प्रमुख आतिथ्यता, महासंघ सुर्खेत शाखाका अध्यक्ष सुशीलराज शर्माको आतिथ्यता तथा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख निलप्रसाद लामिछानेको अध्यक्षतामा माघ १३ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशमा कार्यारत क्रियाशील पत्रकारहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा कर्णाली प्रदेशस्थित विभिन्न आमसञ्चार माध्यममा आबद्ध आर्थिक पत्रकार, खोज पत्रकार, रेडियो, अनलाइन तथा श्रव्य–दृश्य पत्रकारहरूको सहभागिता रहेको थियो।

प्राधिकरणका तर्फबाट सहायक निर्देशक भीमबहादुर माझीले बीमाको परिचय, महत्व, बीमा क्षेत्रसम्बन्धी महत्वपूर्ण तथ्याङ्क, कर्णाली प्रदेशमा बीमाको अवस्था, गरिबी न्यूनीकरणमा बीमा क्षेत्रको भूमिका, बीमा विकास तथा पहुँच विस्तारमा आमसञ्चार माध्यमको भूमिका लगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

छलफलका क्रममा सहभागी पत्रकारहरूले बीमा दाबी प्रक्रिया झन्झटिलो रहेको, कोरोना बीमा दाबी भुक्तानी ढिलाइको रहस्य, जुम्लामा स्याउ खेती बीमा दाबी भुक्तानी हुन नसक्नुका कारण, बीमामा पुनर्बीमाको भूमिका, दाबी भुक्तानीको आधिकारिक समयावधि जस्ता विषयमा जिज्ञासा राख्दै दाबी प्रक्रिया सरल र छिटो बनाउन सुझाव दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव खगेन्द्र भट्टराईले कर्णाली प्रदेशमा पछिल्लो समय बीमा साक्षरता बढ्दै गएको उल्लेख गर्दै यसको पहुँच ग्रामीण भेगसम्म पुर्‍याउन प्रचारप्रसारका कार्यक्रम निरन्तर आवश्यक रहेको बताए । बीमाको दायरा विस्तारका लागि प्राधिकरणको पहल र पत्रकारको कलम दुवै आवश्यक रहेको उल्लेख गर्दै बीमा विषयमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे ।

कार्यक्रमको अन्त्यमा सम्बोधन गर्दै कार्यालय प्रमुख निलप्रसाद लामिछानेले भौगोलिक रूपमा विकट र आर्थिक रूपमा पछाडि परेको कर्णाली प्रदेशका जनताको जीवनस्तर सुधार गर्न बीमा एक सशक्त माध्यम भएको बताए । दाबी भुक्तानी प्रमाणमा आधारित हुने भएकाले आवश्यक कागजात समयमै उपलब्ध गराएमा भुक्तानी प्रक्रिया लामो नहुने स्पष्ट पार्दै बीमा साक्षरता अभिवृद्धिमा आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक प्रथम विश्वराज भट्टराईले गरेका थिए भने उक्त कार्यक्रममा करिब ४५ जनाको सहभागिता रहेको थियो ।

बीमा अभिकर्ताहरूसँग अन्तर्क्रिया
सुर्खेत जिल्ला स्थित जीवन तथा लघु जीवन बीमाकका शाखा कार्यालयहरूमा क्रियाशील बीमा अभिकर्ताहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम माघ १३ गते मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपालको वित्तीय प्रणाली, बीमाको परिचय तथा महत्व, बीमा सम्बन्धी कानुनी व्यवस्था, बीमाको पहुँच विस्तार, बिकास र स्वस्थ प्रतिस्पर्धात्मक बीमा बजार निर्माणमा मध्यस्थकर्ताको भूमिका, कर्णाली प्रदेशमा व्यतित तथा समर्पण बीमाको अवस्था र यसलाई न्यूनिकरण गर्न अभिकर्ताको जिम्मेवारीलगायत विषयमा छलफल गरिएको थियो।

साथै, बीमाको मूल मर्म जोखिम व्यवस्थापन रहेको, सावधिक बीमाभन्दा म्यादी बीमा बिक्रीतर्फ उन्मुख हुनुपर्ने तथा प्रस्तावकको अवस्था र आर्थिक क्षमताअनुसार बीमा गर्नुपर्ने विषयमा जोड दिइएको थियो। उक्त कार्यपत्र नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक विपना पन्थीले प्रस्तुत गरेकी थिइन् ।

अन्तरक्रियाका क्रममा सहभागी अभिकर्ताहरूले बीमामा बोनस दरको गलत व्याख्या हुने गरेको, बीमा दीर्घकालीन प्रकृतिको भएकाले बीमितले किस्ता तिर्न नसक्दा बीमालेख व्यतित हुने अवस्था देखिएको तथा दाबी भुक्तानीमा हुने ढिलासुस्तीले बीमाप्रतिको विश्वसनीयतामा असर परेको धारणा व्यक्त गरेका थिए। साथै, प्रोफेसनल एजेन्सीको आवश्यकता रहेको र अभिकर्तालाई तालिम प्रदान गर्दा प्राधिकरणको सहभागिता अनिवार्य गरिनुपर्ने आवश्यकता औँल्याइएको थियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख निलप्रसाद लामिछानेले सम्पत्ति शुद्धीकरणको सन्दर्भमा नेपालको अवस्थाबारे जानकारी दिँदै जीवन बीमा पनि सम्पत्ति शुद्धीकरणको सम्भावित औजार बन्न सक्ने बताए । उनले विशेषगरी ठूलो बीमाङ्क, एकल बीमालेख, व्यतित तथा पेडअप बीमालेख भएका व्यक्तिले पुनः बीमा गर्न चाहेमा सम्पत्ति शुद्धीकरणको दृष्टिकोणबाट जोखिम हुन सक्ने भएकाले त्यस्तो अवस्थामा व्यवसाय अस्वीकार वा सम्बन्धित बीमकलाई जानकारी गराउनुपर्ने स्पष्ट गरे ।

सहभागीहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बोधन गर्दै उहाँले बीमाको पहुँच विस्तारका लागि बीमा कम्पनीहरू शहरी क्षेत्रमा मात्र सीमित नभई ग्रामीण क्षेत्रसम्म पुग्नुपर्ने तथा बीमालाई जोखिम न्यूनिकरणको प्रभावकारी माध्यमका रूपमा प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए ।

बीमकका प्रदेश तथा शाखा कार्यालय प्रमुखहरूसँग अन्तर्क्रिया
बीमकका कर्णाली प्रदेश कार्यालय प्रमुख तथा शाखा कार्यालय प्रमुखहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा माघ १४ गते बुधबार सम्पन्न भएको थियो ।

छलफलका क्रममा सहभागी बीमकका प्रदेश तथा शाखा कार्यालय प्रमुखहरूले कर्णाली प्रदेशमा बीमा व्यवसायको वर्तमान अवस्था, दाबी भुक्तानीको स्थिति, जेन–जी आन्दोलनका क्रममा भएको क्षतिले बीमकहरूमा परेको प्रभाव तथा सोसँग सम्बन्धित दाबीको संख्या तथा बीमितको केवाइसी अध्यावधिकको अवस्थाबारे जानकारी गराएका थिए।

यसैगरी, कर्मचारी अभावका कारण प्रभावकारी सेवा प्रवाहमा चुनौती देखिएको, सीआरएस तथा बीमा सचेतना कार्यक्रम सञ्चालन गर्न पहल गर्दा केन्द्रिय कार्यालयबाट अपेक्षित सहयोग नपाइएको, जीवन बीमा अभिकर्ताको इजाजत प्राप्त गर्न कठिनाइ भएको व्यक्त गर्दै कर्णाली प्रदेशमै अभिकर्ता परिक्षा सञ्चालनसम्बन्धी कार्य भए सहज हुने सुझावसमेत सहभागीहरूले राखेका थिए।

कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाहरूको सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख निलप्रसाद लामिछानेले बीमकहरूले बीमितको केवाइसी अध्यावधिकमा जोड दिनुपर्ने, जीवन बीमकहरूले पेडअप तथा म्याच्योरिटी दाबी भुक्तानीमा विशेष पहल गर्नुपर्ने र निर्जीवन बीमकहरूले दाबी भुक्तानी प्रक्रियालाई सहज तथा व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । उनले बीमा क्षेत्रलाई सम्पत्ति शुद्धीकरणको औजार बन्न नदिन बीमकहरूले प्रभावकारी रूपमा कार्य गर्नुपर्ने स्पष्ट गरे ।

साथै, सम्पूर्ण बीमकहरूले कर्णाली प्रदेशमा बीमा सचेतना तथा सीआरएस सम्बन्धी गतिविधिहरू सञ्चालन गर्नुपर्ने र आवश्यक परे प्राधिकरणले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अन्त्यमा, सबै बीमा कम्पनीहरूलाई नीति, नियम तथा निर्देशनको पालना गर्दै स्वस्थ र अनुशासित ढङ्गबाट व्यवसाय सञ्चालन गर्न निर्देशन दिए । कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित समय : १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु