गृहपृष्ठ नवलपरासीपूर्वमा ३० जना कुष्ठरोगी उपचाररत
नवलपरासीपूर्वमा ३० जना कुष्ठरोगी उपचाररत
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा अहिले ३० जना कुष्ठरोगी उपचाररत रहेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को तथ्याङ्क अनुसार नयाँ र पुराना गरी अहिले जिल्लामा ३० जना कुष्ठरोगी उपचाररत छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आठ जना नयाँ कुष्ठरोगी पहिचान भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का कुष्ठरोग फोकल पर्सन डिल्लीराम तिवारीले बताए ।
“जिल्लामा अहिले १२ जना महिला र १८ जना पुरुष गरी ३० जना कुष्ठरोगी उपचारमा हुनुहुन्छ”, उनले भने, “चालु आवमा मात्र एक महिला र सात पुरुष गरी आठ जना नयाँ भेटिनुभएको हो ।” जिल्लामा कुष्ठरोगीमध्य यो अवधिमा चार महिला र छ पुरुष गरी १० जना नियमित औषधी सेवनपछि निको भएका छन् । आठवटा स्थानीय तह रहेको जिल्लामा सबैभन्दा धेरै देवचुली नगरपालिकामा आठ जना कुष्ठरोगी रहेको फोकल पर्सन तिवारीले जानकारी दिए ।
त्यसैगरी, कावासोती नगरपालिकामा सात, मध्यविन्दु र गैँडाकोट नगरपालिकामा पाँच–पाँच, हुप्सेकोट र विनयी गाउँपालिकामा दुई–दुई र बौदीकाली गाउँपालिकामा एक जना कुष्ठरोगीले औषधी सेवन गरिरहेको उनले बताए । जिल्लामा २०८१ को पुस मसान्तसम्म ४९ जना कुष्ठरोगी उपचारमा रहेका थिए, २०८० को पुस मसान्तसम्म ४० जना उपचारमा रहेको उनले जानकारी दिए ।
कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो । यो लामो समयसम्म रहने र लगातार बढ्ने खालको सङ्क्रमण हो । अन्य सरुवा रोगको तुलनामा कम सर्ने रोग भए पनि बिरामीले हाच्छ्युँ गर्दा रोग सर्ने सम्भावना रहने प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रमुख केशवप्रसाद चापागाईँले बताए ।
“जिल्लामा प्रत्येक वर्ष कुष्ठरोगीको सङ्ख्या घट्दै गइरहेको छ”, उनले भने, “समयमै उपचार गराएमा पूर्ण रूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराइएपछि रोगीको सङ्ख्या क्रमिक रूपमा घट्दै गइरहेको छ ।”
उठबस गर्दा, हात मिलाउँदा यो रोग सर्दैन । मुख्य रूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वास लिने तन्त्रलाई प्रभावित गर्ने गरेको भन्दै प्रमुख चापागाईँले भने, “कुष्ठरोगले नशालाई क्षतिग्रस्त गर्नुका साथै छालामा घाउ पार्दै मांसपेशीलाई कमजोर पार्छ ।”
छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खाहरू आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने, शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिनेजस्ता कुष्ठरोगका लक्षण हुन् । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्क रूपमा कुष्ठरोगको औषधि उपलब्ध गराउने गरेको छ ।
प्रत्येक वर्ष जनवरी २५ तारिखका दिन मनाइँदै आइएको विश्व कुष्ठरोग दिवस आइतबार विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइँदै छ । ७३औँ विश्व कुष्ठरोग दिवसको नारा कुष्ठरोगको छ ओखती, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती’ तय गरिएको छ ।
प्रकाशित समय : ०६:३९ बजे



















