global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रूरूक्षेत्र धार्मिक पर्यटकीय गन्तव्य बन्दै

रूरूक्षेत्र धार्मिक पर्यटकीय गन्तव्य बन्दै

रूरूक्षेत्र धार्मिक पर्यटकीय गन्तव्य बन्दै

गुल्मी । हिन्दू धर्मावलम्बीका लागि विशेष आस्थाको केन्द्र मानिने रूरूक्षेत्र पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकासित हुँदैछ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल कालीगण्डकी नदीको तटमा अवस्थित रुरुक्षेत्रलाई हिन्दूहरुको पवित्र तीर्थस्थलका रुपमा लिइन्छ ।

यहाँ हरेक वर्ष जेठी, माइली र कान्छी गरी तीन दिनसम्म माघेसङ्क्रान्ति पर्व मनाइने प्रचलन छ । माघे सङ्क्रान्तिका अवसरमा रिडीमा छ दिनसम्म माघे मेलासमेत सञ्चालन हुने गर्दछ । रुरुक्षेत्रमा आयोजना हुने रिडी मेलाले स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउँदै आएको छ ।

माघे सङ्क्रान्तिदेखि सुरु हुने रिडी मेलामा दैनिक हजारौँ श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । विशेषगरी स्नान, पाठपूजा, श्राद्ध तथा पिण्डदान, धार्मिक अनुष्ठानलगायतका धर्मकर्ममा आउने भक्तजनका कारण रूरूक्षेत्रमा चहलपहल बढेको देखिन्छ । धार्मिक विश्वासअनुसार यहाँ स्नान गरे पाप नास हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ । जसका कारण टाढाटाढाबाट समेत भक्तजनहरु यहाँ आउने गदर्छन् ।

रिडी क्षेत्रलाई धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ । रिडी गुल्मी जिल्लाको सदरमुकाम तम्घासदेखि ४५ किलोमिटर र पाल्पाको सदरमुकाम तानसेनदेखि ३० किलोमिटरकाबीचमा भागमा छ । पाल्पाबाट गुल्मीतर्फ प्रवेश गर्ने पहिलो द्वारका रुपमा रिडीलाई चिनिन्छ ।

कालीगण्डकी नदी र रिडी खोलाको बीच भागमा पर्ने रिडी क्षेत्र गुल्मीको सदरमुकाम तम्घासपछिको दोस्रो ठूलो बजार पनि हो । समुद्री सतहदेखि एक हजार ८०० फिटको उचाइमा रहेको रिडी बजार यस क्षेत्रका व्यापारिक केन्द्र पनि हो ।

रिडी नामाकरणका विषयमा विभिन्न किम्वदन्तीहरु रहेको पाइन्छ । कतिपय धर्मग्रन्थमा देवदत्त ऋषिको छोरी कन्यालाई रुरु(मृग) ले आफ्नो दूध खुवाएर हुर्काएको हुनाले ती कन्याको नाम रुरु कन्या रहेको र त्यही रुरुकै नामले रिडी रहन गएको भनाइ छ । जातीय दृष्टिकोणले हेर्दा गुल्मी र पाल्पालाई मगराती क्षेत्र भन्ने गरिन्छ । त्यसै कारणले पनि यी जिल्लाहरुको अधिकांश स्थानहरुको नाम मगराती भाषाअनुसार रहेको हुनाले मगर भाषामा ‘ऋ’ को अर्थ धमिलो या मैलो र ‘डी’ को अर्थ पानी हुने भएको र रिडी खोलामा धमिलो पानी बग्ने हुनाले त्यस क्षेत्रको नाम रिडी रहन गएको भन्ने मान्यता पनि छ ।

कतिपय पुस्तकमा रुरुक्षेत्रको अपभ्रंश शब्द रिडी क्षेत्र हो भन्ने तर्क रहेको पाइन्छ । स्थानीय अग्रजहरुका अनुसार रुरु कन्याको नामवाट अपभ्रंस भएर  रिडी नाम रहन गएको हो ।

रिडी क्षेत्रमा देवदत्त ऋषिले तपस्या गरेको स्थान कालीगण्डकीको किनारमा एउटा गलफूल नाम गरेको गुफा समेत छ । त्यसै गुफामा रुरु कन्याको मन्दिर, देवदत्त ऋषि र हरिहर भगवान्को मूर्तिसमेत रहेको छ । श्रद्धालुहरु त्यस ठाउँमा पूजाआजाका लागि जाने गर्दछन् ।

रिडी क्षेत्रमा एक दर्जनभन्दा वढी प्राकृतिक गुफासमेत छन् । ती गुफाहरु मध्यमा गलफूल गुफा, आनन्दकुटी, रामकुटी र वशिष्ठ गुफा निकै महत्वपूर्ण मानिन्छ । बाहिरबाट आएको सन्यासीहरु तिनै गुफामा बस्ने गर्दछन । सांस्कृतिक रुपमा रिडीमा नेवार समुदायको बसोबास केही बढीमात्रामा छ । आफ्नो सांस्कृतिक परम्पराअनुसारका चाडपर्व मनाउने प्रचलन विद्यमान छ ।

रिडीको कालीगण्डकीमा अन्त्येष्टि गरिए जीवन कर्ममा गरेका पापबाट मुक्ति मिल्ने र वैकुण्ठबास हुने धार्मिक तथा सांस्कृतिक मान्यताका आधारमा मानिसको मत्युपछि रिडीमा लैजाने प्रचलन विद्यमान छ । रिडीको कालीगण्डकी किनारमा कुनै समयमा कसैको दाहसंस्कार नभएमा स्थानीय मानिसहरुलाई हानी गर्छ भन्ने मान्यताका आधारमा सिद्रा पोलेर दाहसंकार गर्ने प्रचलन रहेको थियो । तर आजभोलि भने उक्त परम्परा भने हराउँदै गएको छ ।

रिडीमा माघेसङ्क्रान्ति र कात्तिक एकादशीदेखि पूर्णिमासम्म ठूलो मेला लाग्ने गर्दछ । तीन दिनसम्म लाग्ने माघेसङ्क्रान्ति मेला व्यापारिक दृष्टिकोणले जिल्लामा महत्वपूर्ण मानिन्छ । माघे मेलामा गुल्मीलगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची, बागलुङ, रुकुम र रोल्पासम्मका व्यापारीहरु आउने गर्दछन् । कम्मल, काम्ला, बाँसबाट निर्मित सामग्री र ओखरका घाँजी रिडीको माघेसङ्क्रान्ति मेलाका थप आकर्षकका वस्तुअन्तर्गत पर्दछन् ।

यातायातको दृष्टिले रिडी मुख्य नाका पनि हो । यसै ठाउँ हुँदै गुल्मी, अर्घाखाँची र वागलुङ्को बुर्तिवाङसम्म सवारीसाधन ओहोरदोहोर गरिरहेका हुन्छन् । सनातन धर्ममा विभिन्न तीर्थस्थल मध्यमा रुरुक्षेत्रको ठूलो महत्व छ । नेपालका चारधाम भनेर मुक्तिक्षेत्र, पशुपति क्षेत्र, रुरु क्षेत्र, बराह क्षेत्रलाई चिनिन्छ । तीमध्ये मुक्तिक्षेत्र र रुरुक्षेत्र धाम नेपालमा पर्दछन् ।

रुरुक्षेत्रमा शालीग्राम, ऋषिकेश मन्दिर, शिवालय मन्दिर, रुरुकन्या मन्दिर, भृगुतुङ्गेश्वर मन्दिरलगायतका प्रसिद्ध मन्दिरहरु छन् । यहाँ विशेषतः माघेसङ्क्रान्ति र ठूला एकादशीमा ठूलो मेला लाग्ने गर्दछ । प्रत्येक सङ्क्रान्ति, ग्रहण, एकादशी, औँशी आदि पर्वमा श्रीकृष्ण गण्डकीमा स्नान गरी ऋषिकेश भगवानको दर्शन गर्न श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । रूरूक्षेत्र गाउँपालिकाले रूरू क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न काम थालेको छ । गाउँपालिकाले रुरुक्षेत्रको संरक्षण, सरसफाइ, घाट व्यवस्थापन, सडक पहुँचमार्ग सुधार तथा प्रचारप्रसारलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए।

“रूरूक्षेत्र केवल धार्मिकस्थल मात्र होइन, यो ऐतिहासिक एवं पर्यटकीय विकासको सम्भावनाको केन्द्र पनि हो, यसलाई धार्मिक पर्यटनसँग जोडेर दिगो विकास गर्ने हाम्रो योजना छ”, गाउँपालिका अध्यक्ष ज्ञवालीले भने ।

रिडी मेलामा घरेलु सामग्रीको व्यापार निकै राम्रो हुने गर्दछ । मेला भर्न आउने अधिकांश मानिसले विशेषगरी कम्मल, काम्ला, राडीपाखी, काठ तथा बाँसका चोयाबाट निर्मित सामग्रीहरुका साथै ओखरका घाँजी, गुँड, सुन्तला, कफीलगायत वस्तुहरु खरिद गरि लैजाने गर्दछन् ।

रुकुम र रोल्पाबाट भेँडाको ऊनबाट बुनेर ल्याएका राडीपाखी, कम्बल तथा काम्लाहरुको यहाँ राम्रो व्यापार हुने गर्दछ । रुरुक्षेत्र गाउँपालिकाको संरक्षकत्वमा गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखाको आयोजनामा ठूला मेला सञ्चालन हुँदै आएको छ ।

हालै सम्पन्न रिडी मेलाको मुख्य आकर्षणमा कालीगण्डकी क्षेत्रमा निर्माण गरिएको तीनमुखे झोलुङ्गे पुल र स्थानीयहरुको पहलमा खोला थुनेर बनाइएको कृत्रिम ताल र त्यही तालमा सञ्चालन गरिएको डुङ्गा आन्तरिक पर्यटकहरुको रोजाइमा परेको स्थानीय सुन्दर कसजुले जानकारी दिए ।

प्रकाशित समय : १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु