काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

म्यान्मामा दोस्रो चरणको मतदान

3.02K
shares

म्यान्मामा सत्तारूढ सैन्य जुन्ताले आइतबार दोस्रो चरणको चुनावका लागि मतदान प्रक्रिया सुरु गरेको छ । लोकतन्त्र निगरानी समूहहरूले भने यसलाई सेनाले नागरिक शासनको आवरणमा आफ्नो सत्ता लम्ब्याउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।

म्यान्मामा सशस्त्र सेनाले स्वतन्त्रतापछिको अधिकांश समय शासन गर्दै आएको इतिहास छ । एक दशकजति लोकतान्त्रिक सुधारपछि नागरिक सरकारले नेतृत्व सम्हालेको भए पनि सेनाले सन् २०२१ मा अघिल्लो चुनावको नतिजा अस्वीकार गर्दै सत्ता पुनः कब्जा गरेको थियो । सो विद्रोहपछि प्रजातन्त्र नेतृ आङ सान सुकीलाई हिरासतमा लिइयो र देश गृहयुद्धमा फस्यो ।

याङ्गुन सहरबाट करिब २५ किलोमिटर दक्षिणमा रहेको सुकीको पूर्व निर्वाचन क्षेत्र काव्हमुमा आइतबार बिहान ६ बजे मतदान सुरु भएको एएफपीका पत्रकारहरूले अवलोकन गरेका छन् । स्थानीय किसान थान थान सिन्टले देशमा धेरै समस्या भए पनि नागरिक कर्तव्य पूरा गर्न मतदान गरेको बताए । “शान्ति तुरुन्तै आउँदैन, तर भावी पुस्ताका लागि हामीले क्रमशः अघि बढ्नुपर्छ”, उनले मतदानपछि भने ।

जुन्ताले पाँच वर्षसम्म बलपूर्वक शासन गरेपछि तीन चरणमा सम्पन्न हुने चुनावमार्फत जनवरी २५ सम्म जनतालाई सत्ता फिर्ता गर्ने वाचा गरेको छ । तर धेरै विश्लेषकहरूले सेनाको प्रमुख सहयोगीका रूपमा चित्रण गर्ने युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टी (युएसडिपी) ले पहिलो चरणमै तल्लो सदनका झन्डै ९० प्रतिशत सिट जितेको थियो ।

सुकीलाई राजनीतिक रूपमा अलग पारिएपछि र उनको लोकप्रिय नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टी विघटन भएपछि प्रजातन्त्र समर्थकहरूले चुनाव निष्पक्ष नभएको आरोप लगाएका छन् । उनीहरूका अनुसार सेनाका समर्थकहरूले भरिएको मतपत्र र असहमतिमाथि कडा दमनमार्फत मतदान प्रभावित गरिएको हो । याङ्गुनका एक बासिन्दाले जनताको चासो न्यून रहेको र नतिजा पहिल्यै तय भएको जस्तो देखिने टिप्पणी गरे।

पहिलो चरणमा करिब ५० प्रतिशत मात्र मतदान भएको थियो, जुन सन् २०२० को करिब ७० प्रतिशत मतदानभन्दा धेरै कम हो । विद्रोही समूहहरूको नियन्त्रणमा रहेका र हिंसात्मक आक्रमण भएका क्षेत्रहरूमा मतदान हुन सकेको छैन । विश्लेषकहरूका अनुसार जुन्ताले अन्तर्राष्ट्रिय वैधानिकता देखाउन, कूटनीतिक सम्बन्ध सुधार गर्न र विद्रोहको दबाब कम गर्न चुनावको सहारा लिएको हो ।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विशेषज्ञ टम एन्ड्रुजले जुन्ताले आफ्नो प्रभुत्व कायम राख्न र हिंसा तथा दमन जारी रहँदा वैधानिकताको आवरण सिर्जना गर्न चुनाव ‘इन्जिनियर’ गरेको आरोप लगाएका छन । सन् २०२० मा भारी बहुमत जितेका दलहरू, एनएलडीसहित, अहिलेको मतपत्रमा समावेश छैनन् ।

संविधानअनुसार तल्लो सदनका एक चौथाइ सिट सशस्त्र सेनाका लागि आरक्षित छन् । यसैबीच, मतदानको विरोध वा आलोचना गर्ने सयौँ व्यक्तिलाई कडा कानून अन्तर्गत मुद्दा चलाइएको छ र हजारौँ राजनीतिक कैदीहरू अझै जेलमा छन् ।

दर्जनौँ निर्वाचन क्षेत्रमा मतदान रद्द गरिएको छ, विशेष गरी ती क्षेत्रमा जहाँ विद्रोहीहरूले समानान्तर प्रशासन चलाइरहेका छन् । हिंसाको स्पष्ट आधिकारिक तथ्याङ्क नभए पनि अनुगमन समूहहरूले सबै पक्षबाट करिब ९० हजार मानिस मारिएको अनुमान गरेका छन् । जुन्ता प्रमुख मिन आङ ह्लाइङले नयाँ सरकार गठन भएमा राष्ट्रपतिको नागरिक पोसाक धारण गर्ने सम्भावनालाई अस्वीकार गरेका छैनन ।