गृहपृष्ठ कृषिलाई जीवनशैली बनाउने सपना
कृषिलाई जीवनशैली बनाउने सपना
टाई–सुट लगाएर गाडी चढ्ने, सररर खेतबारी पुग्ने, त्यहीँ टाई–सुट फुकालेर काम गर्दा लगाउने पोशाक लगाउने, माटोसँग खेल्ने, पसिना बगाउने, अनि काम सकेर फेरि टाई–सुटमै फर्किएर होटलमा बसेर खाजा खाना खाने । यो दृश्यको परिकल्पना धेरैका लागि अझै पनि अस्वाभाविक लाग्न सक्छ । कारण, हाम्रो समाजमा किसान भन्नासाथ झुत्रेझाम्रे, हातमुख जोर्न धौधौ पर्ने झलक अझै बलियो छ । कृषि पेशा पढे–लेखेका युवाको अन्तिम विकल्प हो भन्ने सोच पनि गहिरोसँग जरा गाडेर बसेको छ तर विराटनगर महानगरपालिका–१ का सहकारीकर्मी, कृषि उद्यमी तथा सामाजिक अभियन्ता लोकेन्द्र थापाका लागि यो कुनै चलचित्रको दृश्य होइन, कृषिको सम्मानजनक, आधुनिक र सम्भावनायुक्त भविष्यको स्पष्ट परिकल्पना हो ।
सचेतता कृषि सहकारी संस्थाका संस्थापक रहेका थापा लामो समयदेखि किसानलाई हेर्ने परम्परागत दृष्टिकोणमाथि निरन्तर प्रश्न उठाइरहेका छन । उनको दृढ विश्वास छ, किसानको जीवनशैली पनि कुनै अफिसर वा मन्त्रीको भन्दा कम हुनुहुँदैन । उनि भन्छन, “कृषि पेसा बाध्यता होइन, गर्वको पेसा बन्नुपर्छ । माटोसँग जोडिनु कमजोरी होइन, बरु आत्मनिर्भरता, स्वाभिमान र सम्मानको प्रतीक हो ।” यही सोच बोकेर उनि कृषिको व्यवसायीकरण र प्रविधिकरणको यात्रामा अघि बढिरहनुभएको छ, जसको एउटा सशक्त माध्यम बनेको छ सचेतता कृषि सहकारी ।
युवालाई कृषिमा आकर्षित गर्ने र कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यसहित उनको नेतृत्वमा २०७७ चैतमा सचेतता कृषि सहकारी संस्था दर्ता भएको हो । मुलुकमा सङ्घीयता लागू भइसकेपछि विराटनगर महानगरपालिकामा दर्ता भएको पहिलो कृषि सहकारी भएको उनको दाबी छ । सहकारीलाई सहकारीकै मर्म, मूल्य र सिद्धान्तअनुसार अघि बढाउनुपर्छ भन्ने विषयमा उनि अडिग देखिन्छन । कृषि सहकारी भनेर दर्ता भए पनि धेरै संस्थाले बचत तथा ऋणको कारोबारमै आफूलाई सीमित राखेको देख्दा उनि असन्तुष्टि जनाउछन । उनि भन्छन, “सहकारीको मूल आत्मा उत्पादन, सीप, साझा श्रम र सामूहिक लाभमा हुनुपर्छ, नकि केबल ब्याजदर र ऋण असुलीमा ।”
लोकेन्द्र थापासँग नेपालको सुगम मात्र होइन, दुर्गम जिल्लासम्म पुगेर किसान, कृषि प्रणाली र कृषि प्रविधिसँग काम गरेको झण्डै दुई दशक लामो अनुभव छ । हिमाल, पहाड र तराईका फरकफरक भूगोलमा किसानका समस्या, सम्भावना र सीमा नजिकबाट देखेको यो अनुभवले उनलाई एउटै प्रश्नले निरन्तर पछ्याइरह्यो, किन कृषिमा यत्रो सम्भावना हुँदाहुँदै पनि युवा पुस्ता यसबाट टाढिदै गयो ? किन कृषकलाई सम्मानित जीवनशैलीसँग जोड्न सकिएन ? किन कृषि अझै पनि ‘अन्तिम विकल्प’ जस्तो बनिरह्यो ? यही प्रश्नको उत्तर खोज्ने क्रममा उनले परम्परागत खेतीभन्दा फरक, नयाँ सोच र नयाँ प्रविधिसहितको कृषि अवधारणाको कल्पना गर्न थाले ।
त्यो सोच व्यवहारमा उतार्ने निर्णायक क्षण भने कोभिड–१९ को बन्दाबन्दीसँगै आयो । २०७६ चैत ११ गतेदेखि देशभर बन्दाबन्दी सुरु भएपछि सहरका भान्सामा हरियो तरकारीको अभाव देखिन थाल्यो । अन्य खाद्यान्नजस्तो लामो समय भण्डारण गर्न नमिल्ने भएकाले तरकारी सङ्कट आउनु स्वाभाविक थियो । बजार सुनसान थिए, यातायात ठप्प थियो, तरकारीको मूल्य आकासिँदै थियो । त्यहीबेला चैत १५ गते एक बिहान घरको कौशीमा हावा खान निस्कँदा लोकेन्द्रको मनमा एक्कासी एउटा विचार आयो अब यो कौशी खाली राख्ने होइन, यहीँ खेती गर्नुपर्छ ।
विचार सहज थियो तर व्यवहार जटिल । कौसीखेती भन्ने कुरा सुन्नेबित्तिकै धेरैले हाँसे, केहीले असम्भव ठाने । धेरैले उनले देखाएको कौशीखेतीको सम्भावनालाई नपत्याएपछि आफ्नै कौसीबाट सुरु गर्ने निर्णय गरे । उनले कृषि विज्ञहरूसँग परामर्श लिए, कौशीखेतीसम्बन्धी पुस्तकहरू अध्ययन गरे, माटोको मिश्रणदेखि पानीको व्यवस्थापनसम्मका विषयमा सानासाना प्रयोग सुरु गरे ।
सुरुका दिन सहज थिएनन् । उपयुक्त माटोको अभाव, मलको सन्तुलन, किराको प्रकोप, गर्मीका कारण बारम्बार पानी हाल्नुपर्ने बाध्यता र धेरै बिरुवा मर्ने अवस्थाले कहिलेकाहीँ मनोवैज्ञानिक रूपमा निराशा पनि थप्यो तर असफलतामै रोकिने उनको स्वभाव थिएन । बाँचिरहेका बिरुवाबाटै नयाँ बिरुवा तयार गर्ने, गल्तीबाट सिक्दै अघि बढ्ने प्रक्रियाले उनलाई थप ऊर्जा दियो । केही समयपछि कौशीमा हरियो तरकारी लहलहाउन थाल्यो ।
आफ्नै कौशीबाट उत्पादन भएको तरकारी भान्सामा पुग्यो, त्यो केबल तरकारी मात्र थिएन त्यो आत्मनिर्भरता, आत्मसम्मान र आत्मविश्वासको स्वाद थियो । हरियो तरकारीको अभाव मात्र हटेन, अग्र्यानिक स्वादले स्वास्थ्यमा पनि सकारात्मक प्रभाव देखिन थाल्यो । यही अनुभवले उनलाई थप उत्साहित बनायो र कौशीखेतीलाई अझ विस्तार कसरी गर्न सकिन्छ भन्ने विषयमा गहिरो अध्ययन र प्रयोगको बाटो खोल्यो ।
बन्दाबन्दीको दुई–तीन महिनापछि उनको कौशीमा उत्पादन भएका तरकारी बाहिरबाटै देखिन थाले । बिहान–बेलुका घरको बाटो भएर हिँड्ने मानिस, छिमेकीहरू रोकिएर जिज्ञासा राख्न थाले कसरी गर्नुभयो ? कति खर्च लाग्यो ? हामीले पनि गर्न सक्छौँ ? यही चासोले हिजो बाबुबाजेले गर्दै आएको परम्परागत खेती र आजको युवा पुस्ताले गर्नसक्ने आधुनिक, प्रविधियुक्त खेतीबारे छलफल र बहस सुरु गरायो । लोकेन्द्रको घरको कौशी सहरभित्र कृषि सम्भावनाबारे संवाद हुने एउटा सानो केन्द्र जस्तै बन्न थाल्यो ।
कौशीखेतीले सहर सफा र सुन्दर बनाउन पनि सहयोग पु-याउने उनको धारणा छ । सहरका प्रत्येक परिवारले कौशीखेती वा करेसाबारी अपनाएमा मल र जैविक विषादीका लागि सडक किनारका झारपात प्रयोग गर्न सकिने उनको अनुभव छ । लोकेन्द्र थापाको सपना एउटै छ, जब कुनै युवाले टाई–सुटमै खेतबारीमा काम गरिरहेको किसान देखोस् र उसको मनमा पनि कृषि पेसा रोज्ने हुटहुटी जागोस् । किसानको जीवनशैली देखेर कृषि भविष्यको पेसा हो भन्ने अनुभूति होस् । विराटनगरबाट सुरु भएको यो सोचले आज कृषिको नयाँ कथा लेख्न थालेको छ, जहाँ माटो, प्रविधि र सम्मान एउटै धरातलमा उभिएका छन् ।
प्रकाशित समय : १४:४२ बजे

















