गृहपृष्ठ सलाहको निर्णायक गोलमा इजिप्टको रोमाञ्चक जित
सलाहको निर्णायक गोलमा इजिप्टको रोमाञ्चक जित
स्टार स्ट्राइकर मोहमद सलाहको इन्जुरी समयको गोल मद्दतले इजिप्टले अफ्रिका कप अफ नेसन्समा सुखद सुरुवात गरेको छ।
मंगलबार बिहान सम्पन्न समूह ‘बी’ को खेलमा जिम्बाब्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै इजिप्टले महत्त्वपूर्ण तीन अंक जोडेको छ।
खेलको २०औँ मिनेटमा प्रिन्स डुबेले गोल गर्दै जिम्बाब्वेलाई अप्रत्याशित अग्रता दिलाएका थिए। पहिलो हाफमा इजिप्ट १–० ले पछि परेको थियो।
दोस्रो हाफमा आक्रामक बनेको इजिप्टका लागि ६४औँ मिनेटमा ओमर मार्मुसले बराबरी गोल फर्काए। उनी म्यानचेस्टर सिटीबाट व्यवसायीक फुटबल खेल्छन् ।
खेल बराबरीमा सकिने अनुमान गरिरहँदा इन्जुरी समयको पहिलो मिनेटमा लिभरपुलका अनुभवी खेलाडी मोहमद सलाहले निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
पहिलो खेलपछि समूह ‘बी’ मा इजिप्ट ३ अंकका साथ शीर्ष स्थानमा छ। अर्को खेलमा एन्गोलालाई २–१ ले हराएको दक्षिण अफ्रिका पनि समान ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ।
प्रकाशित समय : १०:२४ बजे



















