global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी ऐन नगरसभाबाट पारित गरेको छ ।

नगरसभाले बजेट तथा योजनाको पुनरावलोकन गर्दै उपमहानगरपालिकाले वडा कार्यालयलाई दिएको बजेटको सिलिङ पाँच प्रतिशत घटाएको उपमहानगरपालिकाका प्रवक्त तथा नेपालगञ्ज–१ का वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।

उनले जेनजी प्रदर्शनपछि उपमहानगरपालिकाका सवारीसाधन जलेर नष्ट भएकाले आवश्यकताका आधारमा खरिद गर्न नगरसभाले अनुमति दिएको उल्लेख गर्दै पुनःनिर्माण र मर्मतसम्भारमा बजेटलाई केन्द्रिकृत गरिएको बताए ।

वडाहरुमा एक करोडको हाराहारीमा बजेट निकास हुँदै आएको थियो । सो बजेटको पाँच प्रतिशत रकम पुनःनिर्माणमा लगाइनेछ । जेनजी प्रदर्शनपछि उपमहानगरपालिकाको कार्यालयसहित वडा नं ७ र ९ मा क्षति पुगेको थियो । प्रवक्ता रिजालले शहरको सौन्दर्यकरण, सहरको पर्यटकीयस्थलको विकास, नेपालगञ्जमा रहेका इ–रिक्साको व्यवस्थापनलगायत विभिन्न विषयमा नगरसभाले निर्णय लिएको जानकारी दिए ।

उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामहरि शर्माले बजेट पुनःनिर्माण र मर्ममसम्भारमा केन्द्रित भएको जानकारी दिँदै उपमहानगरपालिकामा रहेका करिब २०० करारका कर्मचारीलाई पुसदेखि लागू हुने गरी १००० भत्ता दिइने निर्णय भएको बताए । उपमहानगरपालिकासँग एक अर्ब ६४ करोड हाराहारीको बजेट रहेको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतमा भएको सो नगरसभामा वार्षिक प्रतिवेदन उपप्रमुख कमरुद्दिन राईले प्रस्तुत गरेका थिए । विभिन्न समस्या समाधानका लागि आफ्नो वडाका विषयमा वडाध्यक्षहरुले धारणा राखेका थिए ।

प्रकाशित समय : १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु