गृहपृष्ठ पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध
पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच महिनादेखि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक नियुक्त नगर्दा विसं २०८३ को पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने प्रक्रिया अघि बढ्न सकेको छैन ।
समिति गठन आदेश, २०७७ अनुसार चार वर्षअघि नियुक्त भएका समितिका पदाधिकारीसहित कार्यकारी निर्देशकको कार्यकाल गत असार २२ गते सकिएको थियो । समिति अध्यक्षसहितका सदस्यको नियुक्ति गत भदौ १३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तरीय निर्णयबाट भए पनि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन । मन्त्रालयले गत साउन २३ गते आवेदन माग गरेर प्रक्रिया सुरु गरे पनि अझै टुङ्गिएको छैन । कार्यकारी निर्देशकका लागि जारी सातदिने सूचनाअनुसार तीन जनाको निवेदन परेको थियो ।
छनोटको प्रक्रियाका लागि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गत साउन २० गते मन्त्रिस्तरीय निर्णय गरी ‘नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक छनोट कार्यविधि, २०८२’ स्वीकृत गरेका थिए । त्यसैताका मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्तिसम्बन्धी व्यवस्थालाई वस्तुनिष्ठ, निष्पक्ष र पारदर्शी बनाउन मनोनयनसम्बन्धी मापदण्ड २०७३ को दफा ७ बमोजिम कार्यविधि स्वीकृत गरिएको थियो । कार्यविधि स्वीकृत भएको चार महिना पूरा हुँदा पनि समितिको कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन ।
समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकाल कार्यकारी निर्देशक नियुक्ति नहुँदा २०८३ सालको पात्रोको ग्रह गणित रुजु गरी स्वीकृति दिनेलगायत काममा अप्ठ्यारो भइरहेको बताउछन । यसले समितिको दैनिक काममा समस्या नभए पनि २०८३ सालको पात्रो रुजु गरी स्वीकृति दिने प्रक्रियामा समस्या भएको उनले सुनाए ।
छनोट कार्यविधिमा मन्त्रालयका प्रशासन तथा योजना महाशाखा हेर्ने सहसचिव संयोजक रहने व्यवस्था गरिएको छ । जसमा मन्त्रालयबाट नियुक्त एक जना विज्ञ सदस्य र मन्त्रालयको प्रशासन शाखाका उपसचिव सदस्यसचिव रहने व्यवस्था छ । संस्कृति संरक्षण अभियानी प्रकाश रायमाझी मन्त्रालयले पर्यटन र नागरिक उड्डयनको विषयलाई प्राथमिकता दिए पनि सांस्कृतिक क्षेत्रलाई बेवास्ता गर्दा यस्तो समस्या हुने गरेको बताउछन ।
समितिको गठन आदेश २०७७ अनुसार कार्यकारी निर्देशक नभएका बेला मन्त्रालयले राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतलाई जिम्मेवारी दिन सक्ने व्यवस्था छ । मन्त्रालयले त्यो जिम्मेवारी अहिले उपसचिव गोकर्णप्रसाद उपाध्यायलाई दिएको छ । प्रशासनिक काम उपाध्यायबाट भए पनि पात्रो प्रकाशन सम्बन्धी काम गर्न ज्योतिषशास्त्रको ज्ञान भएको व्यक्ति चाहिने भएकाले समस्या भएको तोयनाथ पन्तको पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यनाथ पन्तले बताए ।
विगत वर्षमा समितिमा पञ्चाङ्गकारले पेस गरेका पात्रो गणनासम्बन्धी गणित पुस मसान्तसम्म रुजु गरी प्रकाशनका लागि स्वीकृति दिने गरिएकामा यस वर्ष मङ्सिर तेस्रो साता बितिसक्दा पनि काम अघि बढेको छैन । विगतमा माघ पहिलो सातासम्म पात्रो बजारमा आइसक्थे । समितिलाई पात्रो, भित्तेपात्रो, गोजीपात्रोको गणित हेरी प्रकाशनको अनुमति दिने काम गठन आदेशले तोकेको छ ।
यस्तै, विवाह, व्रतबन्धजस्ता सामाजिक र सांस्कृतिक परम्परा तथा धार्मिक अनुष्ठानसँग सम्बन्धित तिथि, मुहूर्त र साइतको निर्णय गर्ने जिम्मेवारी पनि समितिलाई नै तोकिएको छ । सूर्यग्रहण, चन्द्रग्रहण, समयशुद्धिलगायत अन्य ग्रह नक्षत्रमा आधारित विषयमा अन्तिम निर्णय गर्ने काम पनि समितिले नै गर्ने गर्छ ।
नेपाल सरकारलाई विभिन्न चाडपर्व, तिथि, मिति, मुहूर्त, साइत आदिको विवरण उपलब्ध गराउने, विभिन्न धर्म, संस्कृति, परम्परा र सम्प्रदायका चाडपर्वसम्बन्धी विवरण सङ्कलन गर्ने जिम्मेवारी पनि समितिकै हो । यसैगरी ज्योतिषशास्त्र, धर्मशास्त्र र कर्मकाण्डसम्बन्धी विषयमा तालिम र प्रशिक्षण सञ्चालन गर्ने, परामर्श सेवा प्रदान गर्ने काम पनि समितिले गर्दै आएको छ ।
विसं २०८३ को पात्रो स्वीकृतिको काममा ढिलाइ हुँदा विभिन्न स्थानबाट नयाँ वर्षको साइत र मुहूर्तसँग सम्बन्धित प्रश्न गर्नेको सङ्ख्या बढिरहेको पञ्चाङ्गकार, पण्डित, पुरोहितहरूको भनाइ छ । विशेषगरी विदेशमा रहेकाहरूले बिदा मिलाएर पुख्र्यौली थलोमा आई विवाह, व्रतबन्ध आदि कर्म गरेर फर्कन यस्ता मुहूर्त एवं साइत केही महिनाअघिदेखि नै खोज्ने गरेको पण्डित ढुण्डीराज न्यौपाने बताउछन ।
स्वदेशमै हुने सहरी क्षेत्रका मानिसले पनि महिनौँअघिदेखि साइत खोज्ने गरेका छन् । विवाह, व्रतबन्धजस्ता कर्म गर्न घरमा स्थान अभाव हुने भएकाले पार्टी प्यालेसमा ठाउँ लिनुपर्दा पहिले नै साइत खोज्ने क्रम सहरी इलाकामा बढ्दै गएको हो ।
प्रकाशित समय : २०:३७ बजे



















