global ime bank Long Banner Ad

गृहपृष्ठ पोखरा बसपार्कका ५७५ जनाले दर्ता गराए विवरण

पोखरा बसपार्कका ५७५ जनाले दर्ता गराए विवरण

पोखरा बसपार्कका ५७५ जनाले दर्ता गराए विवरण

कास्की । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रश्तावित बसपार्कको जग्गामा बसोबास गरिरहेका ५७५ जनाले आफ्नो विवरण महानगरमा दर्ता गराएका छन् ।

महानगरले बसपार्कमा बसोबास गरिरहेका सुकुमवासीलाई आफ्नो विवरण तीन दिनभित्र महानगरमा दर्ता गर्नका लागि यही जेठ ६ गते सूचना जारी गरेको थियो ।

पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले साँझ तोकिएको समयसम्म बसपार्कमा बसोबास गरिरहेका भूमिहीन दलित, सकुमवासी र अव्यवस्थित बसोबासीले आफ्नो विवरण दर्ता गरेको जानकारी दिए ।

महानगरले यसअघि वितरण गरेको निस्साको प्रतिलिपि, घरमूलि र परिवारका सदस्यसहितको विवरण माग गरेको थियो ।

महानगरले सुुकुमवासीसँग माग गरेको विवरणमा घरमूलि सहित परिवारका सदस्यको नामथर,पेशा, शैक्षिक योग्यता र दक्षता, अशक्त, असहाय, बृद्ध वा सुत्केरी र सम्पर्क नम्बर समेत रहेको छ ।

महानगरले बसपार्कको अतिक्रमित जमिन खाली गर्ने योजनाअनुसार गत वैशाख ३ गते त्यहाँ बसोबास गरिरहेकालाई हट्नका लागि ३५ दिनको सूचना जारी गरेको थियो ।

महानगर प्रमुख धनराज आचार्यले वास्तविक सुकुमवासी पहिचानका लागि विवरण दर्ता अनिवार्य गरिएको बताए । उनले छानबिन गरेर वास्तविक सुकुमवासीको व्यवस्थापन गरिने बताए ।

“वास्तविक सुकुमवासीको पहिचानको काम अहिले भइरहेको छ । सोहीअनुसार थप विवरण माग गरेका हौँ । बसपार्क निर्माणका लागि सर्वदलिय, सर्वपक्षिय र सरोकारवाला सबैबाट सहयोगको प्रतिवद्धता आएको छ । स्वयम् सुकुमवासीले बसपार्क बनाउनका लागि सहयोग गछौँ भन्नुभएको छ । वास्तविक सुकुमवासीको व्यवस्थापन गछौँ र बसपार्क बनाउँछौँ, ”प्रमुख आचार्यले भने।

पोखरामा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि पाँच दशकअघि जमिन छुट्टाइएको थियो । विसं २०३२ मा पृथ्वीचोकमा २०५ रोपनी जग्गामा बसपार्क बनाउने योजना अघि सारिएको थियो ।

बसपार्कका लागि जमिन छुट्टाएको ५० वर्षसम्म काम नहुँदा २०५ रोपनी जमिन अहिले आएर २६ रोपनीमा खुम्चिएको छ । बसपार्कको जग्गामा ठुलो सङ्ख्यामा सुकुम्वासी छन् । नगरविकासलेनै पुरानो विमानस्थलबाट विस्थापितलाई बसपार्कको जग्गामा लगेर राखेको थियो ।

भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले महानगरले छानबिन गरेर वास्तविक सुकुमबासीलाई उचित व्यवस्थापन गर्नुपर्ने बताउँछन् ।

विकासका लागि आफू कुनै पनि हालतमा बाधक नबन्ने उनले बताए । गुरुङले भने, “महानगरले विकल्प दिएर हामीलाई व्यवस्थापन गर्नुपर्छ र सुरुमा अधिग्रहण गरिएको २०५ रोपनी पूरै जग्गामा बसपार्क बनाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।”

प्रकाशित समय : ०४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु