global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल र यूरोपेली सङ्घको संयुक्त आयोगको बैठक ब्रसेल्समा सम्पन्न

नेपाल र यूरोपेली सङ्घको संयुक्त आयोगको बैठक ब्रसेल्समा सम्पन्न

नेपाल र यूरोपेली सङ्घको संयुक्त आयोगको बैठक ब्रसेल्समा सम्पन्न

काठमाडौँ । नेपाल र युरोपेली सङ्घबीचको संयुक्त आयोगको १६औँ बैठक बेल्जियमको ब्रसेल्समा शुक्रबार सम्पन्न भएको छ ।

बैठकमा विकास सहयोग, व्यापार, जलवायु परिवर्तन, क्षेत्रीय सम्पर्क सञ्जाल तथा बहुपक्षीय सहकार्यलगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास ब्रसेल्सले जनाएको छ ।

बैठकमा दुवै पक्षले नेपाल–यूरोपेली सङ्घबीचको सम्बन्ध सकारात्मक रूपमा अगाडि बढेको तथा विकास साझेदारीदेखि जनस्तरसम्मको सम्बन्धका विभिन्न आयामका बारेमा उल्लेख गरेका थिए ।

बैठकमा सङ्घका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आर्थिक अनुशासन, सुशासन, जवाफदेहिता तथा सेवा विस्तारमा केन्द्रित रहेर गरिरहेको कामको प्रशंसा गरेको थियो ।

नेपालले दिगो विकास लक्ष्य प्राप्तिमा भइरहेको प्रगति प्रस्तुत गर्दै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र लगानी प्रवद्र्धनमा यूरोपेली सङ्घ तथा नेपालबीचको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरेको थियो ।

नेपालले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई कानुनअनुसार शिघ्र निष्कर्षमा पुर्याउने प्रतिबद्धता दोर्होयाएको थियो ।

यूरोपेली सङ्घले नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्न तयार पारिएको सङ्क्रमणकालिन रणनीतिलाई स्वागत गर्दै यसअघि नै लागू भएको बहुवर्षीय कार्यक्रममार्फत सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

दुवै पक्षले विभिन्न क्षेत्रका विकास परियोजनामा भइरहेको प्रगतिमाथि पनि समीक्षा गरेको विज्ञप्तिमा उल्लेख छ । हवाई सुरक्षा सुधारलाई नेपालले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै यूरोपेली सङ्घको सन २०२३ को सेप्टेम्बरमा भएको मूल्याङ्कन भ्रमणमा उठेका विषय समाधान गर्ने प्रतिबद्धता दोर्होयाएको छ ।

नेपालले युरोपियन युनियन एयर सेफ्टी सूचीबाट नेपाली एयरलाइन्सलाई हटाइदिन पुनः अनुरोध गरेको छ । आयोगको १७औँ बैठक आगामी वर्ष काठमाडौँमा पारस्परिक सहमतिमा तय हुने मितिमा आयोजना गरिनेछ ।

प्रकाशित समय : ०६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु