global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ पूर्वाधार योजनाको ड्रइङ, डिजाइनिङमा वातावरणीय पक्ष समावेश गर्न निर्देशन

पूर्वाधार योजनाको ड्रइङ, डिजाइनिङमा वातावरणीय पक्ष समावेश गर्न निर्देशन

पूर्वाधार योजनाको ड्रइङ, डिजाइनिङमा वातावरणीय पक्ष समावेश गर्न निर्देशन

काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले पूर्वाधार योजनाको ड्रइङ, डिजाइनिङ, लागत अनुमान गर्दा डिजाइनरलाई वातावरण तथा सामाजिक पक्ष समावेश गर्न निर्देशन दिएकी छन । पूर्वाधार योजनाको काम गर्दा उक्त स्थानमा त्यसअघि भएका पूर्वाधारको सुक्ष्म अवस्थामा ध्यान दिन पनि उपप्रमुख डङ्गोलले विभागलाई निर्देशन दिएकी हुन ।

जमल–कमलाछी–असन, भोटाहिटी–असन, असन–बालकुमारी–मच्छिन्द्र बहाल हुँदै इन्द्रचोकसम्म ढुङ्गा बिछ्याउने योजनाको अनुगमनका क्रममा पानी पुनःभरण प्रणाली सुधार गर्नुपर्नेमा उनको जोड थियो ।

“सडक आफैँलाई पानी पुनःभरण हुनसक्ने बनाउन सम्भव भएन भने वाटर रिचार्ज राखेर भए पनि पानी पुनःभरण गराउनुपर्छ । यससँगै त्यो ठाउँमा पहिले नै निर्माण भएका पूर्वाधार, सामाजिक अपेक्षा र आवश्यकतालाई ख्याल गर्नुपर्छ,” उनले भनिन ।

यस सडकखण्डमा सतहको पानी कसरी निकास हुन्छ ? सडकमा पानी जम्मा भएर पैदलयात्री, स्थानीयवासी तथा व्यापारिक क्रियाकलापमा असर हुन्छ कि हुँदैन भन्नेजस्ता विषयमा पनि ध्यान दिन आग्रह गरिएको छ ।

उक्त सडकखण्डमा पानी पुनःभरण हुने विधिबाट ढुङ्गा बिछ्याउने योजना थियो । यसका लागि एक सय मिटर सडकमा करिब एक महिना परीक्षण गरियो । सवारीसाधनको नियमित आवतजावतले पानी पुनःभरणसहितको सडक निर्माण टिकाउ नहुने भएपछि तर्जुमा गरिएको योजना संशोधन गरेर कार्यान्वयनमा ल्याइएको हो ।

करिब नौ सय मिटर लामो यो सडकखण्डमा न्यूनतम ४.५ फिट र धेरैमा १२ फिट चौडाइ छ । यहाँ १२ इञ्च लम्बाइ, आठ इञ्च चौडाइ र चार इञ्च मोटाइ भएका ढुङ्गा छापिएका छन् ।

चार करोड ४२ लाख ८३ हजार लागत अनुमान रहेको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट तीन करोड ५१ लाख १४ हजार कबोल गर्ने आइएस निर्माण सेवाले काम गरेको हो । विसं २०८२ असोज मसान्तसम्ममा काम सम्पन्न गर्नेगरी २०८१ असार २४ गते निर्माण पक्षलाई कार्यादेश दिइएको थियो । जमिनमा पानी पुनःभरण गराउने परीक्षण र योजना संशोधनका कारण निर्माण अवधि बढेको पनि कामपाले जानकारी दिएको छ ।

अनुगमनका क्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरू, विपद् व्यवस्थापन तथा वातावरण अनुगमन टोलीसहित स्थानीयहरूको समेत सभागिता थियो ।

प्रकाशित समय : २१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु