global ime bank Long Banner Ad

गृहपृष्ठ १८ औं गोदावरी फूल प्रदर्शनी असोज २९ देखि जावलाखेलमा (भिडियो सहित)

१८ औं गोदावरी फूल प्रदर्शनी असोज २९ देखि जावलाखेलमा (भिडियो सहित)

१८ औं गोदावरी फूल प्रदर्शनी असोज २९ देखि जावलाखेलमा (भिडियो सहित)

ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी असाज २९ देखि जावलाखेलस्थित खेलमैदानमा सुरु हुने भएको छ ।

असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म (पाँच दिन) सञ्चालन हुने मेलामा करिब ४० हजार दर्शकले अवलोकन गर्ने र करिब एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ ।

‘रोपेर फूल गोदावरी, सजाऔं आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस प्रदर्शनीको उद्घाटन कार्यक्रम असोज २९ गते बिहान ११ बजे हुनेछ । उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले गर्ने कार्यक्रम छ ।

मेलामा ८० व्यवसायिक स्टल, ५ अफिसियल स्टल, २ प्रतियोगितात्मक स्टल, १ प्लान्ट क्लिनिक स्टल र फोटो सेल्फी स्टलसहित जम्मा ९० वटा प्रदर्शनी कक्ष रहनेछन् । यस मेलालाई नेपालकै सबैभन्दा ठूलो गोदावरी फूल प्रदर्शनीका रूपमा लिइएको छ ।

गोदावरीको पाँच विधामा प्रतियोगिता
प्रदर्शनीको प्रमुख आकर्षण गोदावरी फूलको प्रतियोगिता रहनेछ । प्रतियोगितामा सहभागी नर्सरी तथा फर्महरूले उत्पादन गरेका गोदावरी फूलहरू पाँच विधामा प्रतिस्पर्धा गर्नेछन् ।

मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इनकर्भर र कट फ्लावर । उत्कृष्ट गोदावरी उत्पादन गर्ने फर्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ । साथै, उत्कृष्ठ स्टलको लागि छुट्टै प्रतिस्पर्धा गरिनेछ ।

४५० भन्दा बढी जातका फूल विरुवाको प्रदर्शनी
मेलामा करिब ४५० भन्दा बढी प्रजातीका फूल विरुवाहरू प्रदर्शन र विक्रीका लागि राखिनेछन् । गोदावरी फूल बाहेक सयपत्री, मखमली लगायत तिहार र छठमा बढी प्रयोग हुने मौसमी फूल तथा आलंकारिक विरुवाहरूको पनि बिक्री हुनेछ । यस्तै, रोग र किराको समस्या समाधानका लागि बालिरोग विशेषज्ञहरूसहितको टोलीद्वारा प्लान्ट क्लिनिक स्टल बाट निःशुल्क परामर्श सेवा दिइनेछ ।

मेला अवधिभर विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । फ्लोरिकल्चर एशोसिएसन र लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरको सहकार्यमा मेलाको तेस्रो दिन असोज ३१ गते शुक्रबार रक्तदान कार्यक्रमको पनि आयोजना गरिनेछ ।

नेपालमा पुष्प व्यवसायको सुरुआत वि.सं. २०११ सालमा सामान्य रूपमा भएको हो । व्यवसायिक विकासको सुरुवात भने २०४९ सालमा फ्यानको स्थापनापछि देखिएको हो । हाल सातै प्रदेशका शहरी तथा अर्धशहरी क्षेत्रमा फैलिएको यस व्यवसायमा ५२ जिल्लामा करिब २७० हेक्टर क्षेत्रफलमा फूल खेती हुँदै आएको छ ।

फ्यानका अनुसार हालसम्म देशभर १२३५ भन्दा बढी पुष्प व्यवसायी सक्रिय छन् । जसमा नर्सरी ५४०, कट फ्लावर उत्पादक ९०, खुद्रा व्यापारी १५८, थोक व्यापारी ६, इनपुट सप्लायर्स २५ र लुज फ्लावर उत्पादक ४१६ छन् ।

व्यवसायमा करिब ८ अर्ब ८३ करोड रुपैयाँको लगानी छ भने प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ५३,५०० भन्दा बढीले रोजगारी पाएका छन् ।

हाल पुष्प व्यवसायमा बार्षिक १०–१५ प्रतिशतको वृद्धिदर देखिए पनि आर्थिक वर्ष २०७८/७९ मा कोभिडको प्रभावका कारण व्यापारमा केही गिरावट आएको थियो । तर पछिल्ला वर्षहरूमा फेरी व्यवसायले गति लिएको छ । आ.व. २०८०/८१ मा करिब ८.५ अर्बको कारोबार भएको फ्यानले जनाएको छ ।

प्रकाशित समय : १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु