global ime bank Long Banner Ad

गृहपृष्ठ तनहुँ कारागारका १४० कैदीबन्दी अझै फरार

तनहुँ कारागारका १४० कैदीबन्दी अझै फरार

तनहुँ कारागारका १४० कैदीबन्दी अझै फरार

तनहुँ– तनहुँ कारागारमा अझै १४० कैदबन्दी फरार रहेका छन्। फरार हुँदा स्थानीय समुदायमा ठूलो भय र असुरक्षा फैलिएको छ। चोरी, लुटपाट तथा हिंसाको त्रास फैलिएको छ।

जिल्ला प्रहरी कार्यालयले हालसम्म १८७ कैदीबन्दी नियन्त्रणमा लिइसकिएको भए पनि बाँकी फरार कैदीबन्दीले समाजमा असुरक्षा बढाएका छन्। कारागारमा रहेका ३२७ मध्ये हालसम्म १८७ कैदीबन्दीलाई मात्र नियन्त्रणमा लिन सकिएको छ भने बाँकी फरार रहेका जेलर टेकप्रसाद भट्टराईले जानकारी दिए।

कार्यालयले फरार कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते साँझ कारागारबाट भागेका वा भगाइएका कैदीबन्दीलाई असोज २० गते सोमबारसम्म जिल्ला कारागार कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरिएको छ।

फरार कैदीबन्दी खोजी तथा पक्राउ कार्यदल, तनहुँले आइतबार सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘निर्धारित मितिसम्म सम्पर्कमा नआए कारागार ऐन, २०७९ तथा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ।’

साथै फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई पनि कानुन अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

कारागार प्रशासनले फरार कैदीहरूको अवस्थाबारे जानकारी हुने परिवार, समुदाय, नागरिक समाज, पत्रकार तथा व्यवसायीलाई खोजी कार्यमा सहयोग गर्न आग्रह गर्दै जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिने उल्लेख गरेको छ।

फरार कैदीबन्दीबारे जानकारी भएमा सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल मनकामना गण नं २३ भानु तथा कारागार कार्यालयका सम्बन्धित पदाधिकारीलाई सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रकाशित समय : १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु